पहाडमा हावाहुरीसहित वर्षा र हिमालमा हिमपात हुने ! सेयर गरौ


पश्चिमी निम्न चापीय प्रणालीका कारण देशका पश्चिमी भू-भागको मौसममा शुक्रबारदेखि बदली आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पश्चिमी भू-भागमा सामान्य र मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाले शुक्रबार दिउँसो पश्चिमी भू-भागका केही स्थान र मध्य तथा पूर्वी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ। त्यस्तै हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

आज राति भने देशको पश्चिमी र मध्य भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली हुने महाशाखाले जनाएको छ। शनिबार दिउँसोदेखि भने मौसममा सुधार हुँदै जानेछ। पहाडी भू-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।