दार्जिलिङमा एकै परिवारका ४ जनामा देखियो कोरोना ……(भिडियो सहित)
कुनैपनि लक्षणविना दार्जिलिङका एकै परिवारका ४ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ । दार्जिलिङको कालेबुङस्थित एक महिलाको गत सोमबार मृत्यु भएको थियो । उनको मृत्यु पश्चात परिवारका अन्य सदस्यको स्वास्थ्य परीक्षण गर्दा चारै जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको बताइएको छ ।
परीक्षण गरिएका चारै जनामा कोरोना भाइरसको कुनै पनि लक्षण देखिएका थिएनन् । यद्यपि उनीहरुमा गरिएको परीक्षण रिपोर्ट बुधबार पोजेटिभ आएको उत्तर बंगाल मेडिकल कलेजले पुष्टि गरेको छ । हाल उनीहरुलाई उच्च निगरानीमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । कोरोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखा पर्ने चिकित्सकहरुले बताउदै आएका छन् ।