Logo

आकाशलाई फापेकी पूजा !

पछिल्लो समय चलचित्र क्षेत्रमा नायक आकाश श्रेष्ठले आफ्नो स्थान बनाइसकेका छन्  । चर्चाको हिसाबमा पनि उनी अगाडि  नै छन्  । भलै, उनी अभिनित चलचित्रहरुले बक्स अफिसमा कमाल गरेका छैनन्  । तर, कुनै न कुनै कुराले आकाशलाई चर्चामा ल्याइरहेको हुन्छ  ।

पछिल्लो समय उनको चर्चा विशेषगरी नायिका पूजा शर्मासँग जोडिने गरेको छ । केही चलचित्रमा एकसाथ काम गरेपछि उनीहरुको नाम जोडिने गरेको छ । पूजा र आकाशलाई प्रेमी-प्रेमिकाको रुपमा चिन्नेहरुको जमात पनि राम्रै छ ।

पूजा र आकाश चलचित्र ‘रामकहानी’बाट एकसाथ काम गर्न सुरु गरेका हुन् । उनीहरुले त्यसपश्चात् ‘पोइ पर्‍यो काले, सम्हालिन्छ कहिले मन, सम्झना विर्सना, मन परेसी’ लगायत चलचित्रमा एकसाथ काम गरेका छन् । निरन्तर सँगै काम गर्नाले पनि उनीहरुको नाम जोडिनु स्वभाविक नै हो ।

आकाशल् चलचित्र ‘म त तिम्रै हुँ’बाट डेब्यु गरेका हुन् । उनी अनमोल केसीको रिप्लेसमा उक्त चलचित्र साइन गरेका थिए ।

‘म त तिम्रै हुँ’मा अनमोल केसी खेल्ने कुरा भइरहेको थियो । तर पछि अनमोलको समय नमिलेपछि आकाश उक्त चलचित्रमा अनुबन्धित भएका थिए ।

आफू अनमोलको रिप्लेसमा आएका कारण निकै चुनौती भएको आकाश बताउँछन् । उनी भन्छन्, ‘म त्यहाँ सुपरस्टार अनमोल केसीको रिप्लेसमा आएको थिएँ । त्यसैले पनि राम्रो काम गर्नुपर्ने चुनौती मलाई थियो ।’

अनमोल नायिका सुस्मिताका छोरा हुन् । त्यसैले पनि उनले चलचित्रमा काम गर्ने पक्का भएको थियो । तर, समय नमिल्दा अनमोल निर्मातामा मात्र सिमित रहे ।

आकाशले डेब्यु चलचित्रबाट भने सफलता पाएनन् । उनलाई पहिलो गाँसमा नै ढुंगा पर्‍यो ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग स्कृन सेयर गरेको दोस्रो चलचित्र ‘तिमी सँग’बाट पनि उनी असफल नै रहे ।

चलचित्र ‘ब्ल्याक’बाट त उनले असफलतामा ह्याट्रिक नै गरे ।

आकाशले चौथो चलचित्रमा निर्देशक सुदर्शन थापासँग काम गर्ने मौका पाए । चलचित्र थियो, ‘रामकाहानी’ । यस चलचित्रबाट भने आकाशको करिअरले नै ‘यू टर्न’ मारिदियो । धेरैको नजरमा पर्न सफल भए, आकाश ।

आकाश र पूजाको जोडीलाई यस चलचित्रमा निकै रुचाइयो । चलचित्र पनि हिट भयो । आकाश पूजासँगको सहकार्य आफूलाई फापेको बताउँछन् ।

उनले भने, ‘साच्चिकै पूजासँगको सहकार्य मलाई फाप्यो । उक्त चलचित्रपश्चात् पनि निरन्तर पूजासँगै काम गर्ने मौका पाइरहेको छु । त्यसमा निकै खुसी लागेको छ ।’

आकाश र पूजाको जोडीलाई चलचित्रमा लिन चाहाने निर्माता-निर्देशक पनि कम छैनन् । उनीहरुलाई एकसाथ काम गराए चलचित्र हिट हुने उनीहरुको विश्वास छ । त्यसैले महंगो पारिश्रमिक सहित उनीहरुलाई चलचित्रमा लिन निर्माताहरु तयार छन् ।

आकाशले अहिले ‘सम्हालिन्छ कहिले मन’को छायांकन पूरा गरिसकेका छन् । चलचित्र ‘सम्झना विर्सना’को केही प्रतिशत छायांकन सकिएको छ । उक्त चलचित्रको छायांकन पश्चात् आकाशले चलचित्र ‘मन परेसी’लाई समय दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्