चैतमा आयो साढे ३४ अर्ब मात्रै रेमिट्यान्स, वैशाखमा अझै घटेको अनुमान


विश्वभर कोरोना भाइरसले अर्थव्यवस्थालाई नराम्रोसँग प्रभावित गरिरँदा चैत महिनामा नेपालमा ३४ अर्ब ४८ करोड रेमिट्यान्स आयो, जुन रकम नियमित आईरहेको भन्दा मासिक औसत रेमिट्यान्स रकमको करिब आधा मात्रै हो ।चालु आर्थिक वर्षको पहिलो ६ महिना (पुससम्म) रेमिट्यान्स आप्रवाह गत वर्षको भन्दा ०.९ प्रतिशतले बृद्धि भई ४४७ अर्ब २६ करोड रुपैयाँ थियो । सातौं महिनामा ०.५ प्रतिशतले घटेर ६५ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स आयो । आठौं महिना (माघ)मा १.८ प्रतिशतले वृद्धि भई ७९ अर्ब २१ करोड रेमिट्यान्स आएको थियो ।

तर, आठौं महिनासम्म ५९२ अर्ब ४२ करोड रुपैयाँ रेमिट्यान्स आएकोमा नवौं महिनामा ४ प्रतिशतले घटेर कुल रेमिट्यान्स रकम ६२६ अर्ब ९० करोड मात्रै पुगेको छ ।विश्वभर नै कोरोनाको संक्रमणका कारण कामदारको रोजीरोटीमा समस्या छ । यसका कारण धेरै मजदुरले तलव पाएका छैनन् भने तलब पाएकाहरुले पनि लकडाउनका कारण घरमा रकम पठाउन सकिरहेका छैनन् ।वैशाख महिनामा अझै रेमिट्यान्सको आप्रवाह घट्ने अनुमान गरिएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । नेपालको रेमिट्यान्सको मुख्य स्रोत रहेको खाडीका मुलुकहरु, युरोपेली मुलुक, मलेसिया, भारत र अमेरिकामा रहेका नेपालीहरु प्रभावित छन् ।

कति घट्ला ?

केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्स १ खर्ब ६३ अर्ब रुपैयाँले घट्न सक्ने आकलन गरेको छ । विभागले सार्वजनिक गरेको अनुमानित विवरणअनुसार यो वर्ष ७ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिनेछ । यो नेपालको कुल गार्हस्थ्य उत्पादनको १९.०१ प्रतिशत हुनेछ । गत वर्ष नेपालमा आठ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रिएको थियो । यो नेपालको कुल गार्हस्थ्य उत्पादनको २५.४ प्रतिशत थियो ।

सामान्य अवस्थामा नेपालबाट महिनामा औसत ५० हजार युवा रोजगारीका लागि बाहिरिन्छन् । तर, कोरोना भाइरस -कोभिड-१९) को संक्रमण रोक्न सरकारले हवाई उडान बन्द गरेर लकडाउन गरेपछि विदेश जाने क्रम पनि रोकिएको छ । विदेशमा रहेकाहरू पनि कतिपय बेतलबी बिदामा बस्नु परेको छ, कतिको वर्किङ आवर कटौती भएको छ । कतिले काम गरे पनि तलब पाएका छैनन् ।कोरोनाको कहर सकिसकेपछि ठूलो संख्यामा रोजगारी कटौती हुने जोखिम बढेको छ । त्यसले नेपाल भित्रिने रेमिट्यान्समा व्यापक कमी आउने निश्चित छ ।

रेमिट्यान्स कम आउँदा त्यसै पनि समस्यामा रहेको नेपाली अर्थतन्त्र थप दबाबमा त पर्ने नै छ । तर, भविष्यमा उत्पन्न हुनसक्ने जोखिम मूल्यांकन गर्न यो सही समय भएको विज्ञहरूको राय छ । किनकी अर्थतन्त्रमा रेमिट्यान्सको टेको पहिले जस्तो बलियो छैन ।तथ्यांकले यस्तै देखाउँछ । राष्ट्र बैंकका अनुसार वृद्धिदरको हिसाबमा पछिल्ला वर्षहरूमा रेमिट्यान्स घट्दै गएको थियो । यो वर्ष कोरोनाको विश्वव्यापी महामारीका कारण रेमिट्यान्सको आप्रवाह झण्डै दुई खर्बले घट्ने निश्चित भएको छ ।

अर्थतन्त्रमा प्रभाव

आर्थिक वर्ष २०६५/०६६ मा दुई खर्ब नौ अर्ब रहेको रेमिट्यान्स आप्रवाह क्रमश बढेर आर्थिक वर्ष २०७०/७१ मा पाँच खर्ब ४३ अर्ब पुगेको थियो । त्यसबेला वृद्धिद्धर २५ प्रतिशत पुगेको थियो ।त्यसयता नेपाल भित्रिने रेमिट्यासको अंक बढेपनि वृद्धिद्धर क्रमशः खुम्चिएको छ । २०७१/७२ मा १३.६ प्रतिशत, २०७२/७३ मा ७.७ प्रतिशत, २०७३/७४ मा ४.६ प्रतिशत, २०७४/७५ मा ८.६ प्रतिशत र २०७५/७६ मा १६.५ प्रतिशत देखिन्छ । आर्थिक वर्ष २०७६/७७ को रेमिट्यान्स प्रवाह १८.५४ प्रतिशतले खुम्चने अनुमान तथ्यांक विभागको छ ।

नेपाली युवा वैदेशिक रोजगारीमा तेस्रो मुलुक -खासगरी मलेसिया र खाडी मुलुक) जानेको लहर दुई दशकदेखि चलेको छ । तर, पछिल्लो समय एकपछि अर्को समस्या आएको छ । मलेसियाको रोजगारी झण्डै १५ महिना बन्द भयो ।त्यसले रेमिट्यान्समा असर परिरहेको विश्लेषण भइरहँदा कोरोनाका कारण श्रम गन्तव्यका सबै ढोका बन्द गर्नुपरेको छ । यसबाट देशमा भित्रिने रकममा असरसँगै विदेश जान तयार युवाहरू मनोवैज्ञानिक-पारिवारिक दबाबमा पर्ने छन् ।

नेपाल जीवनस्तर सर्वेक्षण २०६७/६८अनुसार रेमिट्यान्स प्राप्त गर्ने घरपरिवारको कुल आम्दानीको ३१ प्रतिशत हिस्सा रेमिट्यान्सले ओगटेको छ । त्यसमध्ये ७८.९ प्रतिशत रकम घरायसी उपभोग, ७.१ प्रतिशत ऋण तिर्न, ३.५ प्रतिशत शिक्षा र ४.५ प्रतिशत घरायसी सम्पत्तिमा खर्च हुन्छ भने ०.६ प्रतिशत मात्र बचत ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७१/७२ मा १६ जिल्लामा गरेको स्थलगत अध्ययनअनुसार रेमिट्यान्स रकमको २५.३ प्रतिशत अंश ऋण तिर्न उपयोग हुन्छ । त्यस्तै, २३.९ प्रतिशत खाद्यान्न तथा लत्ताकपडा लगायतका दैनिक उपभोग्य वस्तुमा, ९.७ प्रतिशत शिक्षा तथा स्वास्थ्यमा, ३.५ प्रतिशत विवाह, व्रतबन्धलगायतका सामाजिक कार्यमा र ३.० प्रतिशत घरायसी सम्पत्ति खरिदमा प्रयोग हुने गरेको छ । रेमिट्यान्सको २८.० प्रतिशत बचत र १.१ प्रतिशत उत्पादनमूलक क्षेत्र -व्यापार/व्यवसाय) मा लगानी भएको देखिएको छ ।

रेमिट्यान्सको अधिकांश हिस्सा उपभोगमा खर्च भइरहेको देखिए पनि यसले स्वास्थ्य, शिक्षा लगायतमा घर परिवारको जीवनस्तर उकास्न योगदान गर्दै आएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको प्रतिवेदन ‘नेपालमा रेमिट्यान्स आप्रवाहको स्थिति-२०७६’ मा लगानी र पुँजी निर्माणको माध्यमबाट प्रत्यक्ष रुपमा अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दै आएको उल्लेख छ ।रेमिट्यान्स आप्रवाहमा कमी आए यी सूचकहरूमा प्रतिकूल असर पर्ने प्रतिवेदनले औँल्याएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र निजी क्षेत्रतर्फको कर्जा प्रवाहमा रेमिट्यान्सको महत्वपूर्ण भूमिका रहेको अध्ययनले जनाएको छ ।

गत १० वर्षमा रेमिट्यान्स प्रवाहमा भएको वृद्धिका कारण वित्तीय साधन परिचालनको दायरासमेत विस्तार भएको छ । बढ्दो व्यापार घाटाका कारण चालु खाता ऋणात्मक रहेको हालको अवस्थामा बाह्य वित्तको महत्वपूर्ण स्रोत रेमिट्यान्सले शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा टेवा पुर्‍याइरहेको छ ।रेमिट्यान्स आप्रवाहमा कमी आए शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चिति प्रभावित हुने मात्र होइन, बहुआयामिक नकारात्मक असरहरू सिर्जना हुने जोखिम छ ।