भीम रावल र शंकर भण्डारी राजावादी आन्दोलनमा सहभागी हुने हल्ला कसले चलायो ?


काठमाडौं । राजसंस्था पुनःस्थापनाको आन्दोलन तुहिएपछि आइतबार एकाएक एमालेका पूर्वउपाध्यक्ष भीम रावल र कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीलाई ल्याउने योजना भएको भन्दै चर्चा चल्यो । सामाजिक सञ्जाल र मिडियामा समेत आफ्नाबारे समाचार आएपछि रावल र भण्डारीले तत्कालै खण्डन गरे ।

पहिले कांग्रेस सांसद भण्डारीले आफूविरुद्ध आएका हल्लाबारे खण्डन गरे । ‘समाचारमा कुनै सत्यता नरहेको पार्टीका नेता तथा कार्यकर्ता र आमनेपाली नागरिकलाई जानकारी गराउन चाहन्छु । वैदिक सनातन हिन्दू राष्ट्र स्थापनाको एजेण्डा आफूले पार्टी भित्र उठाउँदै आएको र पार्टीले गर्ने निर्णय नै आफ्नो लागि आधिकारिक निर्णय हुने स्पष्ट पार्न चाहन्छु । प्रकाशित समाचारका विषयलाई लिएर भ्रममा नपर्न सम्पूर्णमा आग्रह गर्दछु,’ भण्डारीले भने ।

लगत्तै एमाले छाडेर मातृभूमि जागरण अभियान, नेपालमा क्रियाशील रावलले पनि हल्ला निराधार भएको बताए । ‘दुई हप्ता मातृभूमि जागरण अभियान, नेपालअन्तर्गत विभिन्न जिल्लामा कार्यक्रम गरी काठमाडौं फर्कदा मेरो बारेमा विभिन्न हल्ला चलाइएको सुनियो । हामीहरू उक्त कार्यक्रममा निरन्तर क्रियाशील छौं। यसबाहेकका अन्य हल्ला निराधार भएको तथ्य स्पष्ट गर्दछु,’ उनले भने ।

व्यवस्था नै उल्टाउने गरी अनिश्चितकालीन आन्दोलनमा लागेका राजावादीलाई अहिले किन एमाले र कांग्रेसका नेताहरूको वैशाखी आवश्वयक पर्यो भन्ने चासो उत्पन्न भएको छ । आफ्नो आन्दोलन तुहिएकैले हिन्दु राष्ट्र पुनःस्थापनाबारे सफ्ट कर्नर राख्ने रावल र भण्डारीको नाम बेचिएकोमा कुनै दुई मत छैन ।

रावल र भण्डारी राजसंस्था पुनःस्थापनाप्रति खुलेका छैनन् । कतै बोलेका पनि छैनन् । तर अहिले राजावादी आन्दोलनको नेतृत्व गरिरहेका नवराज सुवेदीलाई हटाएर रावल र भण्डारीलाई ल्याउन खोजेको भनेर मृत अवस्थामा पुगेको राजावादी आन्दोलनमा ज्वारभाटा ल्याउन खोजिएको विश्लेषण हुन थालेको छ ।