भारतको बनारसमा एक नेपालीको कपाल मुन्डन गरी नेपालविरुद्ध गाली गलौज गर्ने एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न सन्तोष पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । अन्यको खोजी जारी राखेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्नलाई कठोर कारबाही गरिने जनाएको छ । उक्त भिडियो अरुण पाठक नाम गरेका व्यक्तिले फेसबुकमा सार्वजनिक गरेका थिए । प्रहरीका अनुसार उनी स्थानीयरुपमा एक संगठन चलाउने व्यक्ति हुन् ।
पाठक विश्व हिन्दु सेना संगठनमा आबद्ध रहेको जनाइएको छ । उनीलगायतविरुद्ध भेलापुर प्रहरीमा जाहेरी दर्ता गरिएको छ ।नेपालका नेता तथा नेपालीविरुद्ध गालोगलौज गर्दै कपाल मुण्डन गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाविरुद्ध भारतीय प्रहरीले कारबाही थालेको हो ।
प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । सामाजिक सन्जालमा भाइरल बनेको उक्त भिडियोमा बनारसमा बस्दै आएका एक नेपालीको कपाल मुन्डन गरिएको देखिन्छ भने साथमा एक व्यक्ति बोलिरहेको सुनिन्छ। भिडियोमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भगवान श्रीरामका बारे नबोल्न नत्र धेरै नेपालीलाई यसरी कपाल मुन्डन गर्ने चेतावनी दिइरहेको सुनिन्छ।
प्रतिक्रिया