एमाले प्रवेश गर्न बालकोट पुगेका गाउँपालिका अध्यक्षलाई प्रचण्डको फोन- त्यसो नगर्नुस्


नेकपा माओवादी केन्द्रबाट निर्वाचित धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) नेकपा एमालेमा प्रवेश गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीबाट निर्वाचित डल्लाकोटीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टी प्रवेश गराएका हुन् । माओवादीका वागमती प्रदेश कमिटी सदस्य समेत रहेका डल्लाकोटीको एमाले प्रवेशलाई धादिङमा आश्चर्यजनकरूपमा हेरिएको छ । डल्लाकोटी एमाले प्रवेशका लागि जिल्लाका नेताहरू डा. पुष्प कडेल, भूमि त्रिपाठीसहित बालकोट पुगेका थिए । धादिङका १२ स्थानीय तहमध्ये माओवादीले जितेको एकमात्र पालिका प्रमुख डल्लाकोटी थिए । डल्लाकोटी एमाले प्रवेशका लागि बालकोट पुगेकै बेला उनलाई माओवादी अध्यक्ष प्रचण्डले फोन गरेका थिए ।

प्रचण्डले उनलाई आफू मलेखु आउन लागेको र सँगै बसेर माछा खाने कुरा गरे । अध्यक्ष डल्लाकोटीले माछा खुवाउने तर अब राजनीतिक रूपमा भने अलग बाटो तय गरेको बताएपछि प्रचण्डले त्यसो नगर्न आग्रह गरेको प्रत्यक्षदर्शीले बताए । प्रचण्डले भने- किन त्यसो गर्नुभएको हो ? अलिकति सल्लाह पनि नगरी यस्तो निर्णय त गर्नु भएन नि । हामी बसेर सल्लाह गरौं ।
तर, डल्लाकोटीले भने अब एमाले प्रवेश गरेको भन्दै प्रचण्डसँगको संवाद टुंग्याए ।