Logo

राति बारम्बार पिसाब लाग्ने समस्या के हो ?

जापानी डाक्टरहरूले राति बारम्बार पिसाब फेर्नुपर्ने व्यक्तिले भोजनमा नुन (सोडियम) को मात्रा कटौती गर्नुपर्ने बताएका छन्। एउटा अध्ययनपछि उनीहरूले यस्तो सुझाव दिएका हुन्।

राति बारम्बार पिसाब लाग्ने समस्यालाई ‘नक्चुरिया’ (नक्चर्नल पोलियुरिया) भनिन्छ। खासगरी ६० वर्षभन्दा माथिका व्यक्ति यो समस्याबाट प्रभावित हुन्छन्।

उनीहरूले गरेको अध्ययनमा ३ सय जना सहभागी थिए। अध्ययनकर्ताहरूले नुनको मात्रा कटौती गर्ने व्यक्तिले यो समस्याबाट मुक्ति पाएको उल्लेख गरेका छन्।

बेलायती डाक्टरहरूले पनि उचित आहारबिहारले यो समस्या समाधान गर्न सकिने बताएका छन्।

नागासाकी विश्वविद्यालयका डाक्टरहरूले अध्ययनको परिणाम लन्डनस्थित युरोपियन सोसाइटी अफ युरोलजी कंग्रेसमा प्रस्तुत गरेका थिए।

अध्ययनमा धेरै नुन खाने व्यक्तिलाई निद्रा नपुग्ने समस्या भए नभएको ३ महिनासम्म अनुगमन गरिएको थियो। उनीहरूलाई भोजनमा नुनको मात्रा घटाउन भनियो। जसजसले भोजनमा नुनको मात्रा कटौती गरे राति उनीहरूले बारम्बार पिसाब फेर्ने समस्या कम भयो।

राति दुईपल्ट पिसाब फेर्नेहरूले भोजनमा नुनको मात्रा कटौती गरेपछि एक पल्ट मात्र पिसाब लागेको बताए। यसको प्रभाव दिउँसो पनि देखियो र 18मा समेत सुधार आयो।
अध्ययनमा सहभागी ९८ जनालाई आवश्यकताभन्दा बढी नुन खान दिइएको थियो। यसको प्रभाव स्वरूप राति उनीहरू बारम्बार पिसाब फेर्न उठ्नुपरेको थियो।

अध्ययनकर्तामध्ये एक डाक्टर मात्सुओ तोमोहिरोले अध्ययन र यसका निष्कर्षको पुष्टि हुन अझै व्यापक अध्ययनको आवश्यकता रहेको बताए। तर, यो अध्ययनले पनि वृद्धहरूलाई राति बारम्बार उठ्नुपर्ने समस्याबाट मुक्ति दिलाउन सघाउने उनको भनाइ छ।

डाक्टर तोमोहिरोका अनुसार सबैले आफ्नो भोजनमा सुधार गरी स्वास्थ्यका कैयौं समस्या समाधान गर्न सकिन्छ। ब्रिस्टल युनिभर्सिटीका नक्चुरिया विशेषज्ञ प्रोफेसर माक्र्स ड्रेकका अनुसार मानिसले दैनिक उपभोग गर्ने नुनको मात्राले मात्र यो समस्या हुँदैन, सुत्नअघि कति पानी खाइन्छ, त्यसले पनि प्रभाव पार्छ।

सामान्यतया ५० वर्षमाथिका आधाभन्दा बढी पुरुष र महिला दुबैलाई राति पिसाब फेर्न निद्रा बिगार्नुपर्ने हुन्छ। उनीहरू राति पिसाब फेर्न कम्तिमा दुईपल्ट उठ्नुपर्छ।

यदि हामी राति दुईपल्टभन्दा धेरै पटक पिसाब फेर्न उठ्नुपरे निद्रा बिग्रन्छ। यसले तनाव बढ्छ र मानिस झर्कन थाल्छ।

उमेर बढेसँगै हर्मोन घटबढ हुन थाल्छ। यो कारणले पनि राति बारम्बार पिसाब लाग्न सक्छ। प्रायःजसो उमेर बढेसँगै पुरुषको प्रोस्टेट ग्रन्थीको आकार पनि वृद्धि भएर ठूलो हुन्छ। यस्तो अवस्थामा प्रोस्टेटले पिसाब थैलीमा थिच्छ र बारम्बार पिसाब लागिरहन्छ।

यस्तै, नक्चुरिया वा राति बारम्बार पिसाब लाग्नु भनेको मधुमेह सुरु हुन लागेको संकेत पनि हुनसक्छ। अथवा मुटुसम्बन्धी समस्या आउन लागेको पनि हुन सक्छ।

नुनको कति मात्रालाई धेरै भन्ने?

बेलायतमा दैनिक ६ ग्रामसम्म नुन खान डाक्टरहरूले सल्लाह दिने गर्छन्, जसमा सोडियम २ दशमलव ४ ग्राम बराबर हुनुपर्छ। ३ वर्षसम्मका बालबालिकालाई दैनिक २ ग्राम नुन आवश्यक हुन्छ भने ७ देखि १० वर्षसम्मका बालबालिकालाई ५ ग्राम। ११ वर्षदेखि भने दैनिक ६ ग्राम नुन चाहिन्छ।

गहुँ, मकैबाट बन्ने पाउरोटी लगायत तयारी खानेकुरामा नुनको मात्रा हामीले अनुमान गरेभन्दा धेरै हुन्छ। बेकन, ह्याम, चिज, क्रिस्प्स र पास्ता, अचारमा पनि नुनको मात्रा धेरै हुन्छ। कुनै पनि प्रशोधित खानेकुरा किन्दा त्यसको प्याकेटमा प्रति १ ग्राममा नुनको मात्रा कति छ हेर्न नबिर्सनु होला।

प्रतिक्रिया दिनुहोस्