Logo

पहिरोले बेंसीसहर-चामे सडक अवरुद्ध

आइतबार रातिको अविरल वर्षाका कारण आएको पहिरोले सडक बगाएपछि मनाङको बेंसिसहर-चामे सडक अवरुद्ध भएको छ । वर्षाका कारण आएको बाढी-पहिरोले लमजुङको मर्स्याङ्दी गाउँपालिका ४ रामबजार नजिकै र घोप्टेभीरमा क्षति पुर्‍याउँदा बेंसीसहर-चामे सडक अवरुद्ध भएको हो ।

मनाङको चामे गाउँपालिका ३, कोतोमा आइतबार राति आएको बाढीले बगाएको सडक । तस्बिर : कान्तिपुर
डुम्रे-बेंसीसहर-चामे सडक योजनाका सबइन्जिनियर सुमन अधिकारीका अनुसार रामबजार र घोप्टेभीरमा आएको पहिरोले सडक बगाएपछि अवरुद्ध भएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले सदरमुकाम चामे नजिकै खोल्सीमा आएको बाढीले सडक बगाएको बताए । उनका अनुसार सडक खुलाउने तयारी भइरहेको छ ।

मानिससमेत हिँड्न नमिल्ने गरी पहिरोले सडक बगाएको सबइन्जिनियर अधिकारीले बताए । अधिकारीका अनुसार २० मिटर जति सडक बगाउनुका साथै वरपर पनि क्षति पुर्‍याएको छ । ‘कोतोमा बाढीले सडक बगाएको ठाउँको हिलो माटो छ; कतै ग्राभेलजस्तो छ । खोल्सीमा बाढी बढेर सबै बगाइदिएछ‚’ उनले भने । उनका अनुसार सडक खुलाउने मेसिन परिचालनको तयारी गरिएको छ ।

लमजुङका डीएसपी कृष्णबहादुर कार्कीका अनुसार डुम्रे-बेंसीसहर सडकखण्डको उदिपुरको नयाँ डाइभर्सनमा बाढीले पुर्‍याएको क्षतिलाई मर्मत गरी सडक सञ्चालनमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्