Logo

पैसा तिर्न नपरोस् भनी ट्रक किनेर साथीकै हत्या, अभियुक्त पक्राउ

ट्रक किनेकाे पैसा तिर्न नपराेस् भनी कालिज मार्ने बहाना बनाएर जंगलमा लगी साथीको हत्या गरिएको हो । काराेबारकाे पैसालाई लिएर उक्त हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । हत्या आरोपमा प्रहरीले अभियुक्त एक जनालाई पक्राउ गरेको छ । हत्या आरोपी अर्घाखाँचीको पाणिनी गाउँपालिका– २ घर भई हाल रुपन्देहीको सैनामैना नगरपालिका– ६ कलौनीमा बस्दै आएका ४३ वर्षीय दीपक भनिने कुलचन्द्र गौतम रहेका छन् । प्रहरीले उनलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

उनले आफ्नै साथी ४४ वर्षीय विष्णुबहादुर पाण्डेको हत्या गरेको आरोप लागेको छ । पाण्डे अर्घाखाँचीको मालारानी गाउँपालिका– २ घर भई पछिल्लो समय रुपन्देहीको बुटवल उपमहानगरपालिका– १३ बस्दै आएका थिए । प्रारम्भिक अनुसन्धानबाट पाण्डे आफ्ना साथी गौतमसँग ट्रक पास गर्न भन्दै घरबाट निस्केका थिए । तर उनी त्यही दिनदेखि सम्पर्कबिहीन भएपछि आफन्तले खोजी गरिदिन अनुरोधसहित साउन ११ गते प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले उनको शव यही साउन १४ गते अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ स्थित सिद्ध सामुदायिक जंगलमा फेला पारेको छ ।

लु १ ख ७७९१ नम्बरको ट्रक कारोबारमा पैसा लेनदेनसम्बन्धी विवादबाट उक्त घटना भएको पाइएको छ । गौतमले पाण्डेको नाममा रहेको सो ट्रक १६ लाखमा आफूले किनेको तर पैसा नदिएको अनुसन्धानका क्रममा खुलेको छ । ट्रक नामसारी गर्नेबित्तिकै पैसा बुझाउने सहमति भए पनि पैसा बुझाउन नपरोस भनेर ट्रक साहु समेत रहेका साथीकै हत्या गरिएको खुल्न आएको हो । हत्या गर्नकै लागि कालिज मार्ने बहाना बनाई साथीलाई जंगलमा लगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्