Logo

घाँटी रेटिएको र छिनोले आँखामा प्रहार गरेर सर्लाहीको हरिपूर्वामा एक युवकको हत्या

सर्लाहीको हरिपूर्वामा एक युवकको बीभत्स ढङ्गले हत्या गरिएको अवस्थामा सोमबार शव फेला परेको छ । हरिपूर्वा नगरपालिका–३, धनकौलका १८ वर्षका सुशीलकुमार यादवको हत्या भएको हो ।

सुशीलको शव सोमबार बिहान गाउँकै आधारभूत विद्यालयको चर्पी निर्माणका लागि खनिएको खाल्डोभित्र फेला परेको प्रहरीले जनाएको छ । धारिलो हतियारले घाँटी रेटिएको र छिनोले आँखामा प्रहार गरेर हत्या गरिएको अवस्थामा सुशीलको शव फेला परेको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । ´धारिलो हतियारले घाँटी रेटेको र छिनोले आँखामा प्रहार गरेर पछाडिसम्म निकालेको देखिन्छ,’ यादवले भने । डीएसपी यादवले घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

भारतमा मजदुरी गर्ने सुशील केही दिनअघि मात्रै घर फिरेका थिए । सुशील गएको सुक्रबारदेखि नै घरबाट बेपत्ता भए पनि परिवारले प्रहरीमा भने खबर गरेका थिएनन् । परिवारका सदस्यले सुशील पुनः कामका लागि भारत नै गएको हुनसक्ने भनी बेपत्ता भएको खबर नगरेको प्रहरीलाइ जनाएको छ ।

बिहान शव फेला परेपछि मात्रै सुशील चार दिनअघि देखि नै बेपत्ता रहेको खुल्न आएको डीएसपी यादवले बताए । मृतकको शव कीराले खान थालिसकेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्