Logo

सार्वजनिक जग्गामा बनाइएको घरमा धरान उपमहानगरले डोजर चलायो

धरान उपमहानगरपालिकाले खोला किनाराका सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घरमा डोजर चलाएको छ । उपमहानगरले आइतबार वडा नं. ५ देउरालीस्थित खार खोला र अँधेरी खोलाको संगमस्थलमा बनेको एकतले पक्की घर भत्काएको हो ।

उपमहानगरपालिकाले सो क्षेत्रमा बहुजातीय रङ्गशाला बनाउने निर्णय गरेको थियो । सार्वजनिक जग्गामा घर नबनाउन गरिएको निर्देशन अटेर गरेर घर बनाएपछि भत्काइएको उपमहानगरले जनाएको छ । मुना चौधरी लिम्बुको उक्त घर भत्काउन उपमहानगरले नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको थियो ।

घर भत्काउने क्रममा दोहोरो झडपसमेत भएको प्रहरीले जनाएको छ । दोहोरो झडप हुँदा उपमहानगरपालिकाको डोजरमा क्षति पुगेको छ । डोजरको सिसा फुटेका छन् । धरान उपमहानगरपालिकाले बहुजातीय रङ्गशाला बनाउने भनेको स्थानमा अनधिकृत बसोबास बस्न थालेपछि गरिएको पटकपटकको आग्रह अटेर गरेकाले घ। भत्काएको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए ।

पूर्व वडाध्यक्ष सन्तोष लिम्बूसहित स्थानीय उपमहानगरको विरोधमा उत्रिएका थिए । पहिलेदेखि नै सो जग्गाको भोगचलन गर्दै आएको भन्दै लिम्बूले खोलाको भाग सीमांकन गर्नुपर्ने माग राखेका थिए । यसअघि पनि प्रहरी सो स्थानमा सो घर भत्काउन पुगेको थियो । स्थानीयको विरोधपछि पछि हटेको उपमहानगरले आइतबार भने उक्त घरमा डोजर लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्