स्थानीय तहबाटै नापी र मालपोत सेवा उपलब्ध गराउने तयारी गर्न मन्त्री रावलको निर्देशन


जनकपुरधाम । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले एक महिनाभित्रै स्थानीय तहबाट नापी र मालपोत सेवा उपलब्ध गराउने गरी तयारी अघि बढाउन कर्मचारीलाई निर्देशन दिएकी छन्।

जिल्ला प्रशासन कार्यालय धनुषामा आयोजित छलफलमा उनले आवश्यक जनशक्ति, पूर्वाधार र व्यवस्थापकीय तयारी तत्काल पूरा गर्न आग्रह गरिन्। सामान्य कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्दै नागरिकलाई स्थानीय तहमै सहज सेवा उपलब्ध गराउनु सरकारको प्राथमिकता रहेको उनको भनाइ थियो।

मन्त्री रावलले दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई निर्धारित समयभित्र लालपुर्जा वितरण गर्न पनि भूमि समस्या समाधान समितिलाई निर्देशन दिइन्। वास्तविक लाभग्राहीको पहिचान गरी निष्पक्ष र पारदर्शी ढङ्गले काम गर्न तथा सेवा प्रवाहमा ढिलासुस्ती नगर्न उनले आग्रह गरिन्।

सरकारी सेवा नागरिकमैत्री बनाउन कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिबीच समन्वय आवश्यक रहेको उनले बताइन्।