Logo

“रास्वपाले सरकार नछोडोस् ” : प्रधानमन्त्री

गठबन्धन जोगाउने पक्षमा आफू लागिपरेको प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

मंगलबार पार्टी पदाधिकारी बैठकबाट बाहिरिने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले आफूहरू सल्लाहमै रहेको बताएका छन्।

‘हामी सल्लाह गर्दैछौं। सकेसम्म हाम्रो सहमति नटुटोस् भन्ने छ। त्‍यसका लागि प्रयास गरिरहेको छु’ उनले भने।

प्रचण्डले रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतको पूर्णपाठ नआएसम्म गृहमन्‍त्रीमा कुर्नुपर्ने बताएका छन् ।

रास्वपाका सभापति लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरिदिएपछि सांसद,उपसभापति र गृहमन्त्री पद गुमेको छ। सर्वोच्चको आदेशअनुसार लामिछानेले पुन:नेपाली नागरिकता प्राप्त गरेका छन्।

नागरिकता लिएसँगै लामिछानेले पुन:गृहमन्त्रीमा दावी गरेका छन्। गृहमन्त्रीको विषयलाई लिएर लामिछाने आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार पुगेका थिए । भेटका क्रममा सत्ता गठबन्धनमा सहमति भएअनुसार पुन: गृहमन्त्री रास्वापालाई नै दिनुपर्ने अडान दोहोर्याएका थिए। नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिएका थिए।

प्रधानमन्त्रीले यस विषयमा आनकानी गरिरहेका छन् तर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लामिछानेले पुन:नेपाली नागरिकता प्राप्त गरिसकेकाले गृहमन्त्री उनैलाई नै दिनुपर्ने दबाब दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्