Logo

प्रचण्ड र ओलीबीच भावी राष्ट्रपतिबारे छलफल

भावी राष्ट्रपति चयनका लागि हुने निर्वाचन र उम्मेदवारका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

भावी राष्ट्रपतिको विषयलाई लिएर एमालेमा आशंका उत्पन्न भएको भनिएका बेला प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच केही दिनयता छलफल बाक्लिन थालेको छ । आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल पूरा बिदा हुन लाग्दा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । आगामी २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ ।

संसद्को पहिलो दल कांग्रेसले समेत राष्ट्रपतिका आकांक्षा राख्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेबाट बनाउने सहमति भएको एमाले नेताहरू बताउँछन् । तर, कांग्रेसबाट राष्ट्रपति बनाउन प्रधानमन्त्री प्रचण्ड सहमत भएको हो कि भन्ने संशय एमालेमा देखिँदै आएको छ । यही संशयका बीच प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली बीच मङ्गलवार छलफल भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफल राष्ट्रपति निर्वाचन केन्द्रित थियो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने बताउँदै आएका छन् । जसलाई एमालेले असम्भव भनिरहेको छ ।

मङ्गलवार भएको भेटमा पनि अध्यक्ष ओलीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन नसक्ने प्रधानमन्त्रीलाई बताए का छन्। । उनले आफ्नो पार्टी एमालेका उम्मेदवारलाई निर्वाचित गराउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच कुराकानी भएको बुझिएको छ ।

यसअघि सोमबार प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त रूपमा राष्ट्रपतिका विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्