Logo

स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउनुपर्ने : गगन थापा

कुनै पनि तहका सरकारले स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउनुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताए।

सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा आज देशैभर बिदा दिएको थियो। यसबारे कांग्रेसका नेताहरूको धारणा माग भइरहेका बेला आज ट्वीट गर्दै महामन्त्री थापाले सार्वजनिक बिदाका नाममा अराजकता अति भएको उल्लेख गरेका छन्।

‘अब संसदमा तत्कालै गर्नुपर्ने विषयमा यसलाई राखौं। सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दवाव बढाऔं,’ थापाले भने, ‘अन्यथा सांसदहरू आफैंले कानून निर्माणको अग्रसता लिऔं। यसका लागि नेपाली कांग्रेसले पहलकदमी लिनेछ।’ पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको पनि थापाले बताएका छन्। ‘कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोड घटाउमा, कहिले आफ्नो राजनीतिक स्वार्थका लागि बिदा दिने क्रम सीमाहीन भएको छ,’ उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्