Logo

गणतन्त्रका लागि बगेको रगतको सम्मान भयो : उपराष्ट्रपति पुन

मधेश प्रदेश सरकारले आज ‘जनयुद्ध दिवस’ मनाएको छ । मधेश भवनमा आयोजित ‘जनयुद्ध दिवस’मा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भएका थिए ।

मधेशको गृह तथा सञ्चार मन्त्रालय अन्तर्गतको शहीद प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले सार्वजनिक बिदाले गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान भएको दावी गरेका छन् ।

उनले भने, ‘यसअघि नै केहि प्रदेश सरकारले गत वर्ष पनि जनयुद्ध दिवसमा बिदा दिएको थियो । यो पटक संघीय सरकारले पनि विदा दिएपछि गणतन्त्र प्राप्तिका लागि बगेको रगत र पसिनाको सम्मान भएको छ ।’

जनयुद्ध दिवसको अवसरमा बिदा दिएकोमा विरोधसमेत भइरहेको विषयमा उनले सार्वजनिक बिदाको पूर्वाग्रह राख्नेहरु विरोध गरिरहेको तर्क गरे । उनले शान्ति प्रक्रियाका बाँकी काम वर्तमान सरकारले पूरा गर्नुपर्ने पनि बताए ।

उक्त समारोहमा मुख्यमन्त्री सरोजकुमार यादवले मधेसी जनता रहेसम्म प्राप्त संघीयतासहितका उपलब्धी कसैले हटाउन नसक्ने दाबी गरे । संघीयता कसैले भिखमा नदिएको भन्दै उनले संघीयता हटाउने सपना नदेख्न ध्यानाकर्षण पनि गराए ।

उनले संघीयतालाई संस्थागत गर्न प्रदेश प्रहरी र निजामती कर्मचारी ऐनलाई कार्यान्वयणमा ल्याउन वर्तमान सरकारसँग आग्रह समेत गरे । मधेश प्रदेश सरकारले गत वर्ष पनि जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्