Logo

राष्ट्रिय हित र राष्ट्रिय गौरवमा आँच आउने गरी सत्ता स्वार्थमा नलाग्ने : केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित र राष्ट्रिय गौरवमा आँच आउने गरी सत्ता स्वार्थमा नलाग्ने बताएका छन् । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले लिएको त्यो नीतिलाई अनेरास्ववियुले काँध थाप्न सक्नुपर्ने बताएका छन् ।

‘हामी यो देशका सन्तति हौं, हामीले नै मातृभूमिको रक्षा गर्ने हो । मातृभूमिको स्वाधीनता बचाएर राख्ने हो र त्यस्तो भूमिका निभाउने राष्ट्रिय गौरव र स्वाभिमानको संक्षिप्त नाम नै एमाले हो, एमालेमात्रै त्यसको प्रतिनिधि हो,’ उनले भने, ‘हामी सत्ता स्वार्थका लागि राष्ट्रियता, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वतन्त्रताजस्ता महत्वपूर्ण विषयहरूलाई लत्याएर कुनै स्वार्थमा लाग्न सक्दैनौं ।’

‘यहाँ कोही अध्यक्ष भएका, कोही अध्यक्ष हुन नपाएका साथीहरू देख्दैछु । तर सबैलाई अध्यक्ष हुन मिल्दो रहेनछ । २३ औं अधिवेशन हुँदासम्म हामीसँग अलिकतिमात्रै अध्यक्ष हुनुहुन्छ । म पनि अध्यक्ष बनेको थिइनँ, मैले पदाधिकारी बन्न पनि पाइनँ,’ ओलीले अनेरास्ववियुमा पदाधिकारीका आकांक्षीहरूप्रति व्यंग्य गर्दै भने, ‘अनेरास्ववियु उद्देश्य बोक्ने संस्था हो, महत्वाकांक्षा बोक्ने संस्था होइन । देशको समृद्धिको उद्देश्य बोक्ने हो ।’

अध्यक्ष ओलीले विद्यार्थी आन्दोलन विद्रोहीमात्रै नभएर सचेत आन्दोलनकारी हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्