Logo

ढाकामाथिको आरोप पुष्टि भए सांसद पद जाने

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडिओ सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ कारबाही गरेको छ । रास्वपाले उनलाई तत्काल निलम्बन गर्ने प्रवक्ता डा. मुकुल ढकालले बताए ।सांसद श्रेष्ठको आरोप प्रमाणित भए उनी सधैंका लागि निलम्बन हुनेछन् । तर, उनले अडिओ इडिट गरेको बताउँदै आफूले छानबिनमा सघाउने पार्टीमा जानकारी गराइसकेका छन् ।

यद्यपी, उनीमाथिको आरोप प्रमाणित भए पार्टीले निलम्बित गरेको पत्र संसद सचिवालयमा पठाउँछ । संसद् सचिवालयमा आएको पत्र सभामुखले प्रतिनिधि सभाको बैठकमा पढेर सुनाएपछि उक्त पद रिक्त हुन्छ । सभामुखले रिक्त रहेको जानकारी गराइसकेपछि मात्रै आयोगले प्रक्रिया थाल्नेछ । श्रेष्ठ समानुपातिक कोटाबाट सांसद भएका हुन् । उनी आदिवासी जनजाति कोटाबाट सांसद बनेका थिए ।उनीलाई कारबाही गरेको पत्र प्राप्त भएपछि मात्रै आदिवासी जनजाति क्लस्टरबाट दोस्रो सूचीमा रहेका मेघबहादुर आले सांसद बन्नेछन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म कुनै दलले सांसदलाई कारवाही गरेको पत्र आफूलाई नआएको बताए ।उनले भने, ‘हामीले पनि मिडिया हेरेर रास्वपाको सांसदबारे थाहा पाएको हौं । त्यतिको आधारमा हामी प्रक्रिया थाल्दैनौँ ।’उनले कुनै सांसदमाथि आरोप लागेपछि पार्टीले छानविन गर्ने र पुष्टि भएमात्रै केन्द्रीय समितिले निर्णय गरेर कारवाहीको पत्र संसद सचिवालयलाई पठाउने बताए ।

उनले थपे, ‘प्रतिनिधि सभाको बैठकमा सभामुखले पढेर पद रिक्त रहेको पत्र हामीकहाँ आएपछि हामीले समानुपातिक निर्वाचन प्रणालीमार्फत् प्रक्रिया अगाडि थाल्छौं ।’

प्रतिक्रिया दिनुहोस्