Logo

भैरहवाका एक जाना व्यापारीको घर विप्लव समुहको कब्जामा

मिटरब्याज मार्फत् किसानहरूलाई ठगेको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भैरहवाका एक व्यापारीको घर कब्जा गरेको छ।
रुपन्देहीका डेढ सय किसानलाई ठगी गरेको भन्दै नेकपाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-५ मिलनचोकस्थित रमानन्द बानियाँको घर कब्जा गरेको हो।
नेकपाले कब्जा गरेको उक्त घर जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट १ सय मिटरको दुरीमा भैरहवाको मुख्य बजारमा रहेको छ।
नेकपा रुपन्देहीका जिल्ला सेक्रेटरी विरेन्द्र विकले बानियाँको घर नियन्त्रणमा लिएको पुष्टि गरे। उनले किसानबाट ७५ हजारदेखि १० लाखसम्म ऋण दिएर किसानलाई ठगी गरेको गुनासो गरेपछि पार्टीले बानियाँको घर कव्जा गरेको बताए।
बानियाँले अदालती अस्त्र प्रयोग गरेर दर्जनौं किसानलाई उठिबास लगाएको, कैयौंलाई घर छाडेर भाग्न बाध्य बनाएको उनको भनाइ छ।
बानियाँको ठगी धन्दाविरुद्ध जिल्ला प्रशासन कार्यलयमा समेत दर्जनौं उजुरी परेको विकले बताए। २०७४ सालबाट पटकपटक उजुरी दिए पनि प्रशासनले वेवास्ता गरेपछि पीडित ऋणीहरूले नेकपामा लिखित उजुरी दिएका थिए।
प्रदर्शनसहित बानियाँको घर पुगेको टोलीले घर कब्जासहित विरोध सभा आयोजना गरेको थियो।
सभामा नेकपामा केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज सरद सी,जिल्ला सेक्रेटरी बिरेन्द्र सी, जिल्ला सचिवालय सदस्य शिशिर सी लगायतमा नेताहरूले सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्