काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको हालै सम्पन्न भारत भ्रमणका क्रममा सार्वजनिक गरिएको ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष रूपमा अघि बढाउन र सीमा समस्या समाधानका लागि मार्गनिर्देश गर्ने जनाएको छ ।
शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले उक्त दस्तावेजले दुई देशबीचको सम्बन्धलाई समग्रतामा अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । भारत भ्रमणका क्रममा भएका समझदारी कार्यान्वयनका लागि दक्षिण एसिया महाशाखाबाट आवश्यक पत्राचारसमेत भइसकेको उनले जानकारी दिए ।
सीमा समस्याबारे बोल्दै प्रवक्ता पौडेलले दुवै देशका प्रधानमन्त्रीले नेपाल–भारत सीमाको संयुक्त स्थलगत निरीक्षण तथा सीमा स्तम्भको मर्मतसम्भारलगायतका विषय उल्लेख गरेको बताए । सीमा सम्बन्धी समस्या समाधान गर्न दुवै पक्षबाट कूटनीतिक प्रतिबद्धता व्यक्त भइसकेको उनको भनाइ छ ।
यस्तै, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनबारे सोधिएको प्रश्नमा उनले उक्त प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष पेस गर्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको बताए ।
‘नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष एवं समग्रतामा अगाडि बढाउन ज्वाइन्ट भिजन डकुमेन्टले दिशानिर्देश गर्छ,’ प्रवक्ता पौडेलले भने ।


















प्रतिक्रिया