Logo

सभामुख घिमिरेले आज प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेतासँग छलफल गर्दै

काठमाडौं, असार १९ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तीन दलका शीर्ष नेतासँग छलफल गर्दैछन्। संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल हुन लागेको हो ।

सभामुख घिमिरेले अहिले बिहान ११ बजे सिंहदरबारस्थित कार्यकक्षमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेका हुन्। छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ पनि सहभागी हुने जनाईएको छ ।

गत वैशाख १५ गते प्रतिनिधिसभाका १० विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि गत जेठ २ गते एकसाथ ती समितिको बैठक सुरु भएको थियो । तर सभापति चयन हुन नसक्दा समितिले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्षनेताहरूलाई बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्