Logo

सरकारको “स्वच्छ नेपाल स्वस्थ नेपाली” नारा साकार पार्न गृह मन्त्रालय र अन्तर्गत कार्यरत ५६ जना सरसफाईमा आवद्ध कर्मचारीहरूले प्रयोगात्मक तथा सैद्धान्तिक तालिम

काठ्माडौं। सरकारको “स्वच्छ नेपाल स्वस्थ नेपाली” नारा साकार पार्न गृह मन्त्रालय र अन्तर्गत कार्यरत ५६ जना सरसफाईमा आवद्ध कर्मचारीहरूले प्रयोगात्मक तथा सैद्धान्तिक तालिम लिएका छन्। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रत्यक्ष पहल र चासोमा उक्त तालिम सम्पन्न भएको हो।

‘आधारभूत सरसफाइ तथा स्वच्छता’ विषयक १० दिने तालिमको आज समापन भएको छ। समापन समारोहमा उपप्रधानमन्त्री श्रेष्ठ समेत सहभागी हुनुहुन्थ्यो। समापनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना सन्देश पठाउदै श्रम तथा श्रमिकबारेको सरकारी प्राथमिकताबारे प्रष्ट पार्नुभएको छ।

सरसफाई तथा यस क्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकहरूको सम्मानित जीवनयापनमा प्रोत्साहन गर्ने नीति सरकारको छ। यसै वर्षदेखि लागू हुने गरी राज्यवाट प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा कम्तिमा दुई प्रतिशत मजदूरलाई समावेश गर्ने नीति सरकारले लिएको प्रधानमन्त्री प्रचण्डले बताउनुभएको छ।

यसवर्षको मजदूर दिवस (मई १) का दिन दक्ष तथा अप्रमाणित अवस्थामा जोखिमपूर्ण काम गरिरहेका सरसफाई कर्मचारीहरूलाई उचित पेशागत तालिम दिईने उद्घोष प्रधानमन्त्री प्रचण्डले गर्नुभएको थियो। त्यसअनुसार गृह मन्त्रालयको आयोजनामा पहिलो चरणको तालिम सम्पन्न भएको हो।

सहारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जिम्मेवारीहरूको आफ्नै महत्त्व हुने र कुनैपनि जिम्मेवारी समानता आधारित हुने बताउनुभयो। ‘काम सानोठुलो हुँदैन। मनिसबीचको सम्बन्ध कामका आधारमा होइन, समानतामा आधारित हुन्छ।’ उहाँले भन्नुभयो- ‘सरसफाइलाई व्यक्तिगत, पारिवारिक र सामाजिक दायित्वमा सम्पन्न गर्नु र त्यसमा दक्ष हुनु सुखद जीवनको धरातल हो।’

राज्य र समाजका लागि शारीरिक श्रमको बिशिस्ट मुल्य हुने, यसलाई ध्यानकै रूपमा आत्मसात गरेर अगाडि बढ्नु व्यक्तित्व सफलताको आधार हुने उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो। कर्मचारीको व्यक्तिगत तथा सार्वजनिक महत्त्व, काम एवम् अधिकारबारे खेम शर्मा सहितका छ जना स्वास्थ्य तथा सरसफाइ विज्ञहरूले उक्त तालिम दिनुभएको हो।

प्रतिक्रिया दिनुहोस्