Logo

रविले सुरु गरे महिलाका लागि निःशुल्क बस सेवा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित चितवन–२ मा महिलाहरुका लागि निःशुल्क बस सेवा सुरु गरेका छन् ।

बेलुनले सजाएको निलो रंङको बसमा निलो सारी लगाएका महिलाहरु बसेका थिए । बसभित्र कुनै गुनासो वा सुझाव भएमा राख्नका लागि सानो बक्स राखिएको छ, जसमा ‘रवि दाइलाई चिठ्ठी’ लेखिएको छ । सानो आकारको बसमा महिलाहरुले आफूले झर्ने ठाउँमा थिच्नका लागि स्विच राखिएको छ ।

यस्तै, उनले आफ्नो निर्वाचन क्षेत्रमा निःशुल्क क्लिनिक सेवा पनि दिने गरी एम्बुलेन्स सञ्चालनमा ल्याएका छन् । निलो रंगको एम्बुलेन्समा निःशुल्क क्लिनिक लेखिएको छ । हरेक दिन नयाँ टोलमा गएर ६५ माथिका वृद्धवृद्धालाई उपचार सेवा दिने बताइएको छ ।

साथै, विपन्नहरुका लागि पाँच लाख बराबरको उपचार बिमाको घोषणा पनि उनले गरेका छन् । तर, विपन्नहरुको संख्या कति हो र एक वर्षमा बिमाले कति मानिसहरुलाई समेट्न सक्छ भन्ने विषय भने सार्वजनिक गरिएको छैन ।

उनले दुईवटा विद्यालयलाई प्रविधिसहितको नमूना विद्यालय बनाउने घोषणा गरेका छन् भने १०० जनालाई रोजगारीको घोषणा गर्दै आवेदन मागेका छन् ।

त्यसअघि, उनले चितवन–२ मा सचिवालय उद्घाटन गरेका थिए । घडा राखेर सजाइएको पानसमा बत्ती बालेर सचिवालय उद्घाटन गरेपछि उनले निर्वाचनको समयमा ‘नेपालमै रोजगारीको अवसर छ’ भनेर रोकिएका आईटी विज्ञ हेमन्त बराललाई प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’को परिचयपत्र लगाइदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्