Logo

ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई तत्काल पक्राउ गरेर बयान लिन एमालेको माग

काठमाडौं,२८ साउन । नेकपा एमालेले ललिता निवासको जग्गा प्रकरणमा मुछिएको पूर्व प्रधानमन्त्रीद्धय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई पक्राउ गरेर बयान लिन माग गरेको छ ।

आइतबार समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा बोल्दै एमाले प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले तत्कालिन प्रधानमन्त्रीद्धयलाई कारबाही गर्न माग गरेका हुन् ।

उनले भने,‘ललिता निवास प्रकरणमा मन्त्रिपरिषदबाट भूमिका खेल्ने पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई अदालतबाट निर्देशनात्मक आदेश हुँदा पनि आजसम्म सामान्य बयानसम्म गराउन सकेको छैन। यस कारणले पनि सुन प्रकरणमा सत्यतथ्य छानबिन गर्न र दोषीलाई कारबाही गर्न उच्चस्तरीय छानबीन समिति बनाउनुपर्नेमा जोड दिएका छौं।’

ललिता निवासको जग्गा प्रकरणमा जोडिएको तत्कालीन प्रधानमन्त्रीद्धय भट्टराई र नेपाललाई समेत छानबिन गरेर अनुसन्धान गर्न गत साउन २१ गते सर्वोच्च अदालतले आदेश दिएको थियो ।

न्यायाधीश अनिलकुमार सिन्हा र डा.कुमार चुडालको संयुक्त इजलासको आदेशमा भनिएको छ,‘मन्त्रिपरिषद्को निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्षरूपमा संलग्न हुनेहरू, मन्त्रालय स्तरमा सो निर्णय गर्न किटानी प्रस्ताव पेस गर्ने वा प्रस्तावमा संलग्न माथिल्लो तहको पदाधिकारी वा अधिकारीको पदसोपान (अनुसन्धानकर्ताको सवाल बमोजिमको पिरामिडको माथिल्लो तह) बाटसमेत गरी अब उप्रान्तको थप अनुसन्धान कार्य अबिलम्ब सम्पन्न गर्नु गराउनु भनी यो आदेश जारी गरी दिएको छ।’

प्रतिक्रिया दिनुहोस्