Logo

चलचित्र”पशुपति प्रसाद २:भष्मे डन”को पहिलो गीत सार्वजनिक…(हेर्नुस् भिडियो)

चलचित्र”पशुपति प्रसाद २:भष्मे डन”को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार जनैपूर्णिमाको अवसर पारेर चलचित्रमा समावेश गीत ‘दुई चुल्ठी बाटन’युट्बमा रिलिज गरिएको हो ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्कालाई फिचर्ड गरिएको छ । आँचल र निश्चललाई चलचित्रको यही गीतमा मात्रै विशेष भुमिकामा देख्न सकिने निर्माण टिमले जनाएको छ । सार्वजनिक गीतमा बि पाण्डेको शब्द रचना तथा सुवास भुषालको संगीत र मेलिना राई र निशान भट्टराईको स्वर सुन्न सकिन्छ ।

निरज कँडेलले खिचेको गीतको अडियो र भिडियो उत्कृष्ट बनेको छ । सार्वजनिक गीतमा प्रविन सिंहको कोरियोग्राफी हेर्न सकिन्छ । ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा निर्माण गरिएको हो ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्र’पशुपति प्रसाद २ : भष्मे डन’मा विपिनका अलवा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।

टुकी आर्टस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।

व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल चलचित्र “पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले चलचित्र नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । चलचित्रलाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्