Logo

गेटमा फोहोर फालेपछि सडक डिभिजनको आपत्ती, रिङरोडको काम सुरु नगरेसम्म हरेक दिन फोहोर पठाउने बालेनको चेतावनी

काठमाडौं– शनिबार साँझ काठमाडौं महानगरपालिकाले काठमाडौंको मिन भवनस्थित सडक डिभिजनको गेटमा फोहोर फालेपछि सडक डिभिजनले आपत्ती जनाएको छ । शनिबारै विभागले विज्ञप्ति जारी गर्दै डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाइ भएका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सोको प्रतिकार गर्नसमेत बाध्य हुने चेतावनी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं जिल्लाभित्रका सडक निर्माण तथा मर्मतसम्भारको महत्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानूनी राज्यको उपहास हुनेगरी बलमिच्याइँ तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ । आज मिति २०८१।०२।१२ गते शनिबार करिब १२ बजे न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा विनाअनुमति सडक काटी सडकको कतबलमबचम चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको बखत विनाअनुमति सडक काटेर साँघुरो बनाउन नहुने भनी सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाइ गरिएको यस किसिमको व्यवहारले कानूनी राज्यको उपहास गरेको ठम्याइ यस सडक डिभिजनको रहेको छ ।’ कार्यालयले आफ्नो कार्य क्षेत्रभित्र भएका त्रुटि औंल्याइ आवश्यक सुझाब दिए सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने विभागको भनाइ छ ।

शनिबार करिब ५ बजे काठमाडौं महानगरपालिकाले विभागको गेटमा कार्यपरिसरमा छिर्न समेत अवरोध हुनेगरि काठमाडौं महानगरपालिकाले फोहोर खन्याएको हो । विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै बालेन्द्र शाह (बालेन) ले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाएका थिए ।

सो विषयमा नगरप्रमुख बालेनले काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा रिङरोडको धुलोको कारण रहेको जनाएका छन् । धुवाँमा उडेको रिङरोड क्षेत्रका कारणले सवारी साधन मर्मतमा खर्च बढि गर्नु पर्नुका साथै गन्तव्यस्थामा पुग्न ढिला हुने गरेको बालेनले सामाजिक सञ्जालमार्फत बताएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई सम्बोधन गर्दै बालेनले विभागले सो क्षेत्रको काम अगाडि नबढाएसम्म हरेक दिन मन्त्री महासेठलाई पायक पर्ने ठाउँमा मायास्वरुप एक ट्रक धुलो उपहार पठाउने सामाजिक सञ्जालमार्फत बताएका छन् ।

चक्रपथ सुधारको दोस्रो फेज (कलङ्की – महाराजगन्ज) को कामका लागि सन् २०१२ डिसेम्बर १८ मा नेपाल सरकार र चीन सरकारकातर्फबाट निर्माण पक्षबिच सम्झौता भएको थियो । सम्झौतामा नेपाल सरकारले १ महिना भित्र साइट क्लियर गर्ने, निर्माण पक्षले त्यसको २ महिना भित्र निर्माणका लागि सबै पूर्व तयारीको काम सिद्ध्याउने र तेस्रो महिनाबाट काम थाल्ने उल्लेख छ । ४० (३ वर्ष ४ महिना) महिना भित्र आयोजनालाई पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको योजना १४४ ९१२ वर्ष० महिना बितिसक्दा समेत थालनी हुने संकेत नदेखिएपछि बालेनले संघीय सरकारलाई चेतावनी दिन सडक डिभिजनको गेटमा फोहोर फालेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्