Logo

बालेन र सडक डिभिजनको तनाब अझैपनि हटेन, न्युरोडमा भत्काएको सडक दुई दिनभित्र पुनस्थापना गर्न निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिका र सडक डिभिजन कार्यालयबिचको तनाब अझैपनि कायम रहेको छ । केहिदिनअघि बालेनले सडक विभागको गेटमा धुलो खन्याएको थिए । जबाफमा सडक डिभिजन कार्यालयले न्युरोड क्षेत्रमा भत्काएको सडक दुई दिनभित्र पुनस्थापना गर्न महानगरलाई निर्देशन दिएको छ ।

सडक डिभिजनले बुधबार एक पत्र देख्दै न्यूरोड क्षेत्रमा फुटपाथ बढाउन महानगरपालिकाले काटेको सडक पुनस्थापना गर्न निर्देशन दिएको हो ।

न्युरोडस्थित जुद्ध शालिक इन्द्रचोक सडकखण्डमा काठमाडौं महानगरपालिकाले सडक खन्ने र भत्काउने काम गरेको र त्यो काम सार्वजनिक सडक ऐनको बर्खिलाप रहेको सडक डिभिजन कार्यालयले महानगरपालिकालाई लेखेको चिठीमा उल्लेख छ ।

महानगरले भत्काएको सडक खण्ड दुई दिनभित्र पुनस्थापना नगरेमा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाही प्रकृया अगाडी बढाउन बाध्य हुने डिभिजनले लेखेको पत्रमा उल्लेख छ ।

सडक डिभिजनले काठमाडौं महानगरपालिकालाई जेठ ३ गते पत्रमार्फत डिभिजनको कार्यक्षेभित्र सहमतिबिना कुनैपनि काम नगर्न अनुरोध गर्दै पत्र लेखेको थियो । तर महानगरपालिकाले जेठ १२ गते सडक डिभिजनको सहमति बिना नै सडक भत्काउने काम सुरु गरेको थियो ।

सडक भत्काउन थालेपछि सडक डिभिजनले सडक भत्काउने काम रोकी सडकको पुनस्थापना गर्न अनुरोध गरेपनि हालसम्म पुनस्थापना नगरेकाले पुन चिठी लेखेको जनाएको छ ।

काठमाडौं महानगरपालिकाले न्युरोडको सडकलाई काटेर फुटपाथको आकार बढाउन चालु आर्थिक वर्षमा बजेट छुट्याएको छ । फुटपाथ फराकिलो बनाउन महानगरपालिकाले डिपिआर तयार गरेर टेण्डर प्रक्रियाबाट २ करोड ५६ लाख रुपैयाँ मा काम सम्पन्न गर्न आरोग्य साइटेक जेभी छनोट गरेको छ ।

गत शनिबार काठमाडौं महानगरपालिकाले फुटपाथ बढाउन न्युरोडको सडक काटेको थियो । कानुनविपरित सडक काटेको भन्दै सडक डिभिजन कार्यालयले महानगरको सडक काट्न प्रयोग गरेको मेशिन समेत नियन्त्रणमा लिएको थियो ।

सडक डिभिजनले महानगरपालिकाको काममा अवरोध पु¥याएपछि जवाफमा बालेनले शनिबार नै सडक डिभिजनको गेटमा एक ट्रक धुलो खन्याएका थिए । विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै बालेनले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाएका थिए ।

जवाफमा सडक डिभिजनले प्रेस विज्ञप्ति जारी गर्दै डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाइ भएका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सोको प्रतिकार गर्नसमेत बाध्य हुने चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्