Logo

विश्व वातावरण दिवसको अवसरमा दोस्रो हिसान म्याराथुन हुने, तीन सयभन्दा बढीले प्रतिस्पर्धा गर्ने आँकलन

काठमाडौं– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौं जिल्ला कार्य समितिले ‘दोस्रो हिसान म्याराथुन–२०२४’ आयोजना गर्ने भएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आगामी जेठ २३ गते विश्व वातावरण दिवसको अवसर पारेर म्याराथुन आयोजना गरिएको जानकारी गराएको हो ।

आगामी जेठ २३ गते विहान ७ बजे थापाथलीस्थित ट्रेड टावरबाट दौड सुरु हुने बताइएको छ । करिब ५ किलो मिटर दूरीको दौड सञ्चालन हुनेछ । सो कार्यक्रमको सुभारम्भ प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिका सभापति सन्तोस चालिसेको उपस्थितिमा गरिने बताइएको छ ।

म्याराथुनको रुट थापाथली, माइतिघर, बवरमहल, बानेश्वर चोक, सिभिल हस्पिटल, तीनकुने हुँदै पुनः सुरु भएको विन्दुमा आएर समापन हुनेछ । आयोजनक समितिका अनुसार म्याराथुनमा हिसानका सदस्य संस्थाहरुमा अध्ययनरत तोकिएका तहका विद्यार्थीहरु मात्रै सहभागी हुन पाउनेछन् ।

प्रतियोगितामा सहभागी महिला र पुरुष दुवैतर्फ प्रथम, द्धितिय र तृतिय हुने प्रतिस्पर्धीहरुलाई क्रमशः नगद १५ हजार, १० हजार र पाँच हजार पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै, महिला र पुरुषतर्फ थप ३÷३ जनालाई सान्तवना पुरस्कार स्वरुप एक÷एक हजार उपलब्ध गराइने आयोजक समितिले जनाएको छ । म्याराथुनको मूल नारा ‘लेट्स रन टुगेदर फर इन्भाइरोन्मेन्ट’ रहेको छ ।

काठमाडौं हिसानकी अध्यक्ष जेसिका चेमजोङले मानिसका क्रियाकलाप र विज्ञानले ल्याएको विकासका कारण प्रदुषित बनेको वातावरण जोगाउन सबैले आ–आफ्नो ठाउँबाट योगदान दिन आवश्यक रहेको सन्देश प्रवाह गर्न म्याराथुन आयोजना गरिएको बताईन् । ‘मानिसको क्रियाकलाप र विज्ञानले ल्याएको विकासका कारण प्रदुषित बनेको वातावरण र यसले निम्त्याएका विपद्हरु आज विश्वकै साझा समस्या बनेको परिप्रेक्षमा हाम्रोजस्तो विकासोन्मुख राष्ट्रका लागि थेग्नै नसक्ने खतरा बढ्दैछ । यो समस्याको निराकरण र न्यूनीकरण गर्न हामी सबै नागरिक र राज्यका तह तप्काबाट सहयोग हुनुपर्छ भन्ने सन्देश दिँदै यो कार्यक्रम गर्न लागिएको हो,’ उनले भनिन् ।

कार्यक्रम संयोजक एवं काठमाडौं हिसानका सह–सचिव कृष्ण गौतमले ग्लोबल वार्मिङ र क्लाइमेट चेन्जले वातावरणमा परेको असरबारे आमजनमानसमा सूचना पुर्याउन म्याराथुन आयोजना गरिएको बताए । उनले म्याराथुनमा हिसानमाका सदस्य संस्थामा अध्ययनरत प्लस टू र ब्याचलर लेवलका विद्यार्थीहरु सहभागी हुने बताए ।

‘हिसान आफैंमा निजी शिक्षालयहरुको संगठन जसले देशको निजी क्षेत्रका शिक्षालयहरुको नेतृत्व लिइरहेको छ । मूलतः अहिले ग्लोबल वार्मिङ र क्लाइमेट चेन्जले जसरी विश्वलाई असर गरिरहेको छ, सिम्बोलिक तरिकाले हिसानले पनि अपनत्व लिनुपर्छ र हामीले जनमानसमा र समग्र राष्ट्रलाई यसको बारेमा सूचना दिनुपर्छ भन्ने हेतुले हामीले यो कार्यक्र अघिल्लो वर्षदेखि अगाडि बढाएका छौं,’ उनले भने ।

 

 

प्रतिक्रिया दिनुहोस्