मेक्सिकोमा पहिलो महिला राष्ट्रपति निर्वाचित, जो बाइडनले दिए बधाई

504
Shares

वासिङ्टन डीसी– अमेरिकी राष्ट्रपति जो बाइडेनले मेक्सिकोको पहिलो महिला राष्ट्रपतिको रुपमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक जीतका लागि क्लाउडिया सेनबामलाई बधाई दिएका छन् ।
‘म क्लाउडिया सेनबामलाई मेक्सिकोको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित भएकोमा उहाँको ऐतिहासिक जितका लागि बधाई दिन चाहन्छु’, बाइडेनले सोमबार एक विज्ञप्तिमार्फत भने ।

‘हामी दुई देशबीचको स्थायी बन्धनलाई प्रतिबिम्बित गर्ने साझेदारी र मित्रताको भावनामा राष्ट्रपति–निर्वाचित सेनबामसँग नजिकबाट काम गर्न उत्सुक छौँ । हाम्रा जनताको हितका लागि दुवै राष्ट्रको मूल्य र हितलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने।

यसबाहेक, बाइडेनले मेक्सिकन जनतालाई राष्ट्रव्यापी लोकतान्त्रिक चुनाव सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिए । ‘स्थानीय, राज्य र सङ्घीयस्तरमा बीस हजारभन्दा बढी पदका लागि भएको राष्ट्रव्यापी सफल लोकतान्त्रिक निर्वाचन प्रक्रिया सञ्चालन गरेकोमा म मेक्सिकन जनतालाई पनि बधाई दिन चाहन्छु,’ राष्ट्रपति बाइडेनले बताए ।

जलवायु वैज्ञानिक तथा मेक्सिको सहरकी पूर्व मेयर क्लाउडिया सेनबाम मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनी यो पद सम्हाल्ने यहुदी सम्प्रदायकी पहिलो यहुदी नेता पनि हुनभएको पोलिटिकोले जनाएको छ ।

मेक्सिकोको निर्वाचन कार्यालयबाट प्राप्त प्रारम्भिक परिणामअनुसार ६१ वर्षीया सेनबामले लगभग ५८ प्रतिशत मत प्राप्त गरेकी थिइन् ।

मतदाताहरूलाई समर्थनका लागि कृतज्ञता व्यक्त गर्दै सेनबामले यसलाई ऐतिहासिक क्षण रहेको बताइन् । सेनबामले भनिन्, ‘गणतन्त्रको दुई सय वर्षमा पहिलोपटक म मेक्सिकोको पहिलो महिला राष्ट्रपति बन्नेछु । हामीले पूर्णरुपमा लोकतान्त्रिक मेक्सिको हासिल गरेका छौं ।’ रासस