Logo

नेदरल्यान्ड्सविरुद्धको खेलअघि सन्दीपले दिए नेपाली टोलीलाई शुभकामना

काठमाडौं– अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि विश्वकप खेल्नबाट बञ्चित भएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले नेदरल्यान्डविरुद्धको खेलअघि नेपाली टोलीलाई सफलताको शुभकामना दिएका छन् ।

टी–२० विश्वकपको नवौँ संस्करणमा नेपालले मंगलबार राति नेदरल्यान्ड्सको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार, राति २१ः१५ बजे सुरु हुनेछ । अमेरिकामा नेपाल र नेदरल्यान्ड्सबिचको खेल सुरु हुनुभन्दा करिब चार घन्टाअघि सन्दीपले सामाजिक सञ्जाल फेसबुकमार्फत टोलीलाई सफलताको शुभकामना दिएका हुन् ।

उनले विश्वकप यात्रामा होमिएका नेपाली खेलाडीलाई सफलताको शुभकामना दिँदै भनेका छन्, ‘उत्कृष्ट प्रदर्शनका लागि मेरो शुभकामना छ । प्रतियोगितामा तपाइँहरु उत्कृष्ट प्रदर्शन गर्नुहोस् । नेपालको गौरव बढाउनुस् । जय नेपाल ।’

सन्दीपलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको थियो । त्यसपछि उनी पुनरावेदन लिएर उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतले भने सन्दीप निर्दोष रहेको निर्णय सुनाएको थियो ।

त्यसपछि सरकार र नेपाल क्रिकेट संघले सन्दीपलाई विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज पठाउने तयारी अगाडि बढाएका थियो । तर, अमेरिकाले दुईपटकसम्म सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्