Logo

व्यक्ति तोकेर मुलुुकको गोप्य सूचना बेच्ने भनेको छैन – गृहमन्त्री लामिछाने

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मुलुुकको गोप्य सूचना बेच्ने मानिसको नाम नतोकेको बताएका छन् । आइतबारदेखि सुरु हुने दुई दिने राष्ट्रिय सुरक्षा बैठकमा सहभागी हुन विराटनगर पुगेका लामिछानेले पत्रकारसँग बोल्दै गोप्य सुचना दिने व्यक्तिको नाम नलिएको बताएका हुन् ।

प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा सञ्चार माध्यममा आएका कुराहरुमात्र गरेको उनले बताए । गृहमन्त्री लामिछानेले भने, ‘सञ्चार माध्यममा यस्ता कुरा पनि आउँछन् नि भन्ने कुरा गरेको हुँ ।पत्रपत्रिका र सञ्चार माध्यममा आएकै कुराले गर्दा खेरी हो,’

प्रतिनिधि सभामा सांसदलाई सम्बोधन गर्ने क्रममा लामिछानेले देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔँ भनेर बोलेका थिए । देशका आन्तरिक सूचना चुहाउनेहरुमाथिको अनुसन्धान कहाँ पुग्यो भनेर सोधिएको प्रश्नमा उनले त्यो भन्ने कुरा नभएको बताए । उनले भने, ‘कारबाही अनुसन्धानको विषय कहाँ पुग्यो भन्ने कुरा त्यसको प्रक्रिया भइरहँदा भन्ने कुरा होइन । अनुसन्धानका विषय यसरी पत्रकार सम्मेलन गर्दै भन्दै गइन्छ र ?’

 

 

 

प्रतिक्रिया दिनुहोस्