Logo

सूर्यदर्शन सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री लामिछानेविरुद्ध परेको रिटको सुनुवाइ आज

काठमाडौं– उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी आजका लागि तोकिएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनका विषयमा लामिछानेविरुद्धको रिट सर्वोच्चका न्यायाधीशद्धय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिएको छ ।

यसअघि सो रिटमा २० जेठमा सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गर्दै अग्राधिकार दिएर आजका लागि पेशी तोक्न आदेश दिएको थियो ।

सूर्यदर्शन सहकारीका बचतकर्ताले २०८० माघ २२ गते रवि लामिछाने, दीपेश पुनसहित विभिन्न व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पूरक जाहेरी दिएका थिए । तर महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगीमा आरोपित गृहमन्त्री लामिछानेविरुद्ध कुनै उजुरी नपरेको भन्दै २०८१ वैशाख २४ मा पत्र लेखेको थियो ।

सो पत्र गैरकानुनी भएको भन्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दिएका थिए । रिटको सुनुवाइ गर्दै गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको पूरक जाहेरीको प्रमाणित प्रतिलिपी पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो । सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयले लेखेको उक्त पत्रको प्रमाणित प्रतिलिपी पनि झिकाउनसमेत आदेश दिँदै छलफलमा बोलाएको थियो ।

सर्वोच्चले मुद्दा चाडै टुंगो लाग्नुपर्ने प्रकृतिको देखिएको आज अन्तरिम आदेशको छलफलका लागि सुनुवाइको पेशी तोकेको हो ।

प्रतिक्रिया दिनुहोस्