Logo

तत्कालिन गाउँपालिका अध्यक्षसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा

सिराहा– नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहन प्रसाद यादवसहित १४ जनाविरुद्ध १४ लाख ५१ हजार ५५१ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष २०७७/७८ मा सिरहाको नवराजपुर गाउँपालिका वडा नं २ स्थित रामजानकी दलित आधारभूत विद्यालय मझौराको अपुरो कार्य पूरा गर्ने योजनामा विद्यालय भवनको नभए नगरेको कामलाई भए गरेको भनी कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा झुटा मूल्याङ्कन चढाई भुक्तानीका लागि सिफारिस गरिएको छ ।

यादवसहित गाउँपालिकाका तत्कालीन उपाध्यक्ष शोभाकुमारी यादव, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि, जिन्सी प्रमुख सञ्जयप्रसाद यादव, वडा नं। ४ का वडा अध्यक्ष मदन यादव, वडा नं ५ का वडा अध्यक्ष मनोजकुमार यादव, वडा नं। २ का वडा अध्यक्ष खुशिलाल साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, लेखापाल सोमप्रसाद आचार्य, इन्जिनियर कृष्णा साह, सब–इन्जिनियर सन्तोष कुमार यादव, उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोसा मुखिया मलाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम १४ लाख ५१ हजार ५५१ रुपियाँ बिगो रकम कायम गरी जरिवाना सजाय हुन मागदाबी लिई सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्