Logo

श्रीलंकासँग खेल जित्नुपर्ने दबाबमा नेपाल, मौसमले साथ नदिने चिन्ता

काठमाडौं– आइसिसी पुरुष टी–२० विश्वकप २०२४ अन्तर्गत नेपालले दोस्रो खेल श्रीलंकासँग खेल्दै छ । अमेरिकाको स्थानीय समयअनुसार मंगलबार राति ७ः३० बजे अर्थात् नेपाली समयअनुसार बुधबार बिहान सवा ५ बजे खेल सुरु हुनेछ ।

समूह ‘डी’ मा नेपाल र श्रीलंका दुवै टोली पहिलो जितको खोजीमा छन् । नेपालले समुह चरणको पहिलो खेलमा नेदरल्यान्डस्सँग ६ विकेटले पराजित भएको थियो । उता श्रीलंकलाले दुई खेलमा हार व्यहोरिसकेको छ । श्रीलंकाले साउथ अफ्रिका र बंगलादेशसँग हार व्यहोरेको हो ।

दुबै टोली खेल जित्ने दबाबमा रहेको बेलामा मौसमको चिन्ताले समेत सताउन थालेको छ । खेल संयुक्त राज्य अमेरिकास्थित फ्लोरिडाको ब्रोवार्ड काउन्टी रंगशालामा हुँदै छ ।

मौसम पूर्वानुमानअनुसार खेल हुने समयमा पानी पार्ने सम्भावना अत्याधिक छ। गर्मी बढिरहेको फ्लोरिडामा अहिले हरेक दिनजसो वर्षा भइरहेको छ। दुई दिनअघि भारी वर्षा हुँदा ब्रोवार्ड काउन्टी मैदानमा पानी निकै जमेको थियो। त्यसले पनि खेललाई असर गर्ने देखिन्छ। तर ग्राउन्ड स्टाफ भने पानी रोकिएको २० मिनेटपछि मैदान खेल्न योग्य हुने दाबी गर्छन्।

२००७ मा निर्माण गरिएको रंगशालामा न्युजिल्यान्ड र श्रीलंकाबीच २०१० पहिलो टी–२० भएको थियो। अन्तिम पटक भारत र वेस्ट इन्डिजले यो मैदानमा गत वर्ष टी–२० खेल खेलेका थिए।

 

प्रतिक्रिया दिनुहोस्