Logo

एक हप्ता अघि नै सन्दीप लामिछाने क्यानडा पुगेको खुलासा

काठमाडौं— जब अमेरिकी दुतावासले क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न जान दुईपटकसम्म भिसा दिएन । सन्दीपलाई विश्वकपमा देख्न नपाउने भन्दै क्रिकेटप्रेमीहरुको मन कुडियो ।

आइसिसी टि–२० विश्वकप सुरु हुनुअघि भिसाका लागि पहल गरिदिन दौडधुप गरीरहेका सन्दीपपनि अमेरिकाको भिसा नपाएपछि शान्त देखिए ।

सन्दीपले सामाजिक सञ्जालमा धार्मिक स्थलको भ्रमण गरिरहेको फोटो हाल्न थाले । सबैले विश्वकप खेल्न नपाएपछि सन्दीप मन बहलाउन मन्दीर पुग्न थालेको अड्कल गर्न थाले । उनले कहिले स्याङ्जाको डहरे देउराली त कहिले गोरखाको मनकामना मन्दिर घुम्न गएको फोटो हालिरहेका थिए ।

यसैबीच सोमबार उनले वेस्ट इन्डिजमा पुगेको फोटो हाल्दै विश्वकपको समुह चरणको दुई खेलमा सहभागिता जनाउने खुलासा गरेका छन् । तर, सन्दीपले मनकामना मन्दिरको दर्शन गरेको जानकारी दिँदै सन्दीपले हालेको फोटो भने क्यानडामा बसेर पोस्ट गरेको खुलेको छ ।

उनी एक हप्ताअगाडि नै सुटुक्क क्यानडा प्रस्थान गरेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खुलासा गरेका छन् । उनका अनुसार सन्दीप वेस्ट इन्डिज सोमबार पुगेका हुन् तर एक हप्ता अगाडि नै उनी क्यानडा पुगेका थिए । नेपालबाट सबैलाई थाहा दिएर हिँड्दा विभिन्न बाधा अड्चन आउन सक्ने भन्दै गोप्य रुपमा सन्दीपलाई वेस्ट इन्डिज पठाएको अध्यक्ष चन्दले बताएका छन् ।

उनले एक अन्तर्वातामा भने, ‘टोरन्टोबाट वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टका लागि रेगुलर फ्लाइट हप्तामा एक दिन मात्रै हुँदो रहेछ । क्यानले चार्टर फ्लाइट गर्न सक्ने अवस्था थिएन । त्यसैले उसलाई एक हप्ता अगाडि नै बोलाएर राखियो ।’

क्यानडामा सन्दीपलाई क्रिकेट एकेडेमीमा राखिएको थियो । त्यहाँ उनले नियमित अभ्यास गरेको चन्दले जानकारी दिए । चन्दका अनुसार नेपालका भुतपूर्व प्रशिक्षक पुबुदु दासानायकेले सन्दीपलाई सहयोग गरेका थिए ।

सन्दीपलाई वेस्ट इन्डिज पुर्याउन क्यानका सचिव पारस खड्का र म्यानेजर विनोद दासलाई आफूले सबै जिम्मा दिएको उनले बताए । सबैको मेहेनतले सन्दीपलाई वेस्ट इन्डिज पुर्याउन सफल भएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्