Logo

मेयर बालेनको टिम पस्यो सिंहदरबार: मन्त्रालयको क्यान्टिनबाट बालबालिका उद्धार

काठमाडौं– नेपाल सरकारले वि सं २०८७ सम्म बाल श्रममुक्त राज्य निर्माण गर्ने लक्ष्य लिएको छ । बाल मैत्री स्थानिय शासन कार्यान्वयन निर्देशिका २०७८ मा नेपाललाई वि सं २०८७ सम्म बाल श्रममुक्त सहित बालमैत्री बनाउने उल्लेख छ । बाल श्रम निवारण गुरुयोजना २०७५ – २०८५अनुसार नेपालले २०७९ सम्म निकृष्ट प्रकारको बाल श्रमको र २०८२ सम्म सबै प्रकारको बाल श्रम निवारण गर्ने लक्ष्य लिएको छ ।

‘बालबालिका राष्ट्रको कर्णधार । आजका बालबालिका नै मुलुकको भविष्यका। नीति निर्माता हुन् । बालबालिकाको संरक्षण राज्यको दायित्व’ यी र यस्तै नाराहरु सरकारले प्रयोग गरिरहने नारा हुन् ।

तर भविष्यका कर्णाधार नै सिंहदरबार र देश चलाउन जनताले चुनेका सांसदबाट पीडित छन् । बाल श्रममुक्त राज्यको सपना बोकेको सरकार नै बालबालिकाको श्रम शोषण गरिरहेको छ ।

आज विश्व बालश्रमविरुद्धको दिवस । यहि दिन सिंहदरबारभित्रको क्यान्टिङमा नै बाल श्रमिक भेटिएका छन् । काठमाडौं महानगरपालिकाले सिंहदरबारबाट २ जना बाल श्रमिकहरुको उद्धार गरेको छ ।

महानगरको बाल उद्धार टोलीले सिंहदरबारभित्र केन्द्रीय सर्भिस सेन्टरको भवनभित्र रहेको केन्द्रीय चमेना गृहबाट उनीहरुको उद्धार गरेको हो । महानगरको उद्धार टोली सिंहदरबारभित्र रहेको अन्य मन्त्रालयको चमेना गृहमा समेत पुगेर बाल श्रमिकको खोजि गरिरहेको छ ।

यसअघि गणतन्त्र दिवस अर्थात् जेठ १५ मा पनि महानगरको बाल उद्धार टोलीले नै सांसदको घरबाट बाल श्रमिकको उद्दार गरेको थियो । बालुवाटारछेउबाट १४ बर्षे बालिकालाई दुर्व्यवहार र बाल श्रम शोषणमा परेको अवस्थामा महानगरपालिकाले उद्दार गरेको हो । लठ्ठी र पाइपले कुटपिट हुने गरेको भन्ने उजुरीको आधारमा उनको उद्दार भएको थियो ।

सांसदको घरबाट बालिकाको उद्दार भएको जानकारी दिँदै काठमाडौंका मेयर बालेन्द्र शाह बालेनले उच्चपदस्थ कर्मचारीले नै बालश्रम शोषण गर्ने गरेको बताएका थिए ।
महानगरकै क्यान्टिनदेखि सरकारी उच्चपदस्थ कर्मचारी, बालबालिकाकै लागि काम गर्ने भनिएका अन्तराष्ट्रिय निकाय र सांसदसम्मको घरबाट निकृष्टरूपमा बालश्रम शोषण गराइरहेको खुलाएका थिए ।

२०८१ वैशाखदेखि बालश्रम शोषणमा परेका बालबालिकाको उद्धार गर्न थालेको महानगरपालिकाले उच्चपदस्थ व्यक्तिकै घर र सरकारी कार्यालयका क्यान्टिङबाट ३७ जना बालबालिकाको उद्दार गरिसकेको छ । महानगरले ती बालबालिकालाई जोखिमबाट उद्धार गरि विभिन्न ६ वटा संरक्षण गृहहरुमा राखेको छ । अझैपनि महानगरपालिका बालबालिकाको उद्दारमा जुटिरहेको छ ।

सिंहदरबारले नै श्रम शोषण गरेको बालबालिका अन्य कहाँ कहाँ भेटिन्छन् भने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्