Logo

‘यसपालि दृश्य बदलौं, बाढीपछि बैठक होइन, उद्धारमा जुटौं’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्यूनीकरण सम्बन्धी संशोधित ऐन, ०७५ बमोजिम व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा बिहीबार बोल्दै सांसद शर्माले बाढीपहिरोपछि आपतकालीन बैठक बस्ने दृश्य बदल्नुपर्ने बताएका हुन् ।

उनले बाढीपछि बैठक नभई उद्धारमा जुट्न आग्रह गरे । जलवायु परिवर्तन, भौतिक विकासका लागि जङ्गलको विनाश र प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग आदि कारणले नेपाल प्राकृतिक प्रकोपले ग्रसित भएको उल्लेख गर्दै भूगर्भविद्हरुले औँल्याएका पहिरोको जोखिम बस्तीहरू स्थानान्तरण गर्ने दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा तदारुकता राख्न आग्रह उनले गरे ।

‘उनले भने, ‘बर्खाको समयमा हाम्रो देशमा ३ वटा दृश्य देखिने गरेको छ । पहिलो– बाढीपहिरो, दोस्रो आपतकालीन बैठकहरू र तेस्रो दलहरूको वक्तव्य अनि संसद्मा सांसदहरूको ध्यानाकर्षण,’ शर्माले बैठकमा भने, ‘यसपालि दृश्य बदलौं । ध्यानाकर्षणका लागि बाढी नकुरौं । बाढीपछि बैठक होइन, उद्धारमा जुटौं । जस्तो कि हामी जान्दछौं– गाउँमा कसैको घरमा आगो लाग्दा मान्छेले बैठक गर्दैनन्, पानी खोज्छन् ।’

 

प्रतिक्रिया दिनुहोस्