Logo

बालेनले गरे सांसदको घरबाट बालिकाको उद्दार, प्रहरी परिसर टेकुमा उजुरी दर्ता

काठमाडौं– काठमाडौं महानगरको टोलीले गणतन्त्र दिवसको दिन उद्दार गरेको बालिका लुम्बिनीको प्रदेशसभा सांसदको घरमा बाल श्रमिकको रुपमा रहेको खुलेको छ । लुम्बिनी प्रदेशसभाकी सांसद रेखा कुमारी शर्माको धुम्बाराहिस्थित घरबाट विशेष सूचनाको आधारमा १४ वर्षीय बालिकाको उद्दार गरेको महानगरपालिकाले जनाएको छ ।

धुम्बाराहिबाट १४ बर्षे बालिकालाई दुर्व्यवहार र बाल श्रम शोषणमा परेको अवस्थामा महानगरपालिकाले उद्दार गरेको हो । लठ्ठी र पाइपले कुटपिट हुने गरेको भन्ने उजुरीको आधारमा उनको उद्दार भएको थियो । काठमाडौँमा राखेर पढाइदिने भन्दै सांसद शर्माले बालिकालाई काठमाडौं ल्याएकी थिइन्। कक्षा ७ मा अध्ययनरत बालिका विगत ८ वर्षदेखि सांसद शर्माको घरमा बाल श्रमिकको रुपमा बस्दै आएकी थिइन् । बालिका मानसिक अवस्था स्वस्थ नरहेको महानगरले जानकारी दिएको छ ।

सांसद शर्मा विरुद्ध बुधबार महानगरको टोलीले प्रहरी परिसर टेकुमा बालबालिकासम्बन्धी कसुरअन्तर्गत समेत दर्ता गरेको छ । अब कानुनी प्रक्रियामा जाने महानगरपालिकाले जनाएको छ ।

सांसद शर्माको घरबाट बालिकाको उद्दार गरेपछि काठमाडौंका मेयर बालेन्द्र शाह बालेनले उच्चपदस्थ कर्मचारीले नै बालश्रम शोषण गर्ने गरेको बताएका थिए । महानगरकै क्यान्टिनदेखि सरकारी उच्चपदस्थ कर्मचारी, बालबालिकाकै लागि काम गर्ने भनिएका अन्तराष्ट्रिय निकाय र सांसदसम्मको घरबाट निकृष्टरूपमा बालश्रम शोषण गराइरहेको उनले खुलाएका थिए । यस्तै बुधबार विश्व बाल श्रमविरुद्धको दिवसमा पनि महानगरपालिकाले सिंहदरबारका क्यान्टिङबाट ४ जना बाल श्रमिकको उद्दार गरेको छ ।

२०८१ वैशाखदेखि बालश्रम शोषणमा परेका बालबालिकाको उद्धार गर्न थालेको महानगरपालिकाले उच्चपदस्थ व्यक्तिकै घर र सरकारी कार्यालयका क्यान्टिङबाट ४१ बालबालिकाको उद्दार गरिसकेको छ । महानगरले ती बालबालिकालाई जोखिमबाट उद्धार गरि विभिन्न ६ वटा संरक्षण गृहहरुमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्