Logo

आइसक्रिम खाँदा भेट्टियो मान्छेको औंला

काठमाडौं– भारतको मुम्बईमा एउटा अनौठो घटना भएको छ । अनलाइन अर्डरमार्फत प्राप्त आइसक्रिमको कनमा मान्छेको औंला फेला परेको छ ।

यो घटना गत बुधवारको हो । भारतीय सञ्चार माध्यम न्युज १८ का अनुसार एक महिलाले एक ग्रोसरी डेलिभरी एपमार्फत घरायसी सामानसँगै आइसक्रिम पनि अर्डर गरेकी थिइन् । उक्त आइसक्रिम खाने क्रममा ती महिलाका दाजु ओर्लेम ब्रेन्दन सेराओले कोनमा मान्छेको औंला फेला पारेका हुन् ।

२६ वर्षीय सेराओ पेशाले एक एमबीबीएस डाक्टर हुन् । उनी दिउँसोको खानापछि आइसक्रिम खाँदै थिए । बटर स्कच आइसक्रिम आधा जति खाइसकेपछि जिब्रोमा केही अनौठो चिज महसुस गरे । जब उनले नजिकबाट नियालेर हेरे, आइसक्रिमभित्र मान्छेको औंला पाए । उनले नङसहितको आधा इन्च लामो मासु भेटेको जनाइएको छ ।

त्यसपछि उनले तत्कालै यो विषयमा आइसक्रिम कम्पनीको इन्स्टाग्राम पेजमा गएर गुनासो टिपाए । तर कम्पनीबाट कुनै प्रतिक्रिया आएन ।
त्यसपछि उनले उक्त घटनाबारे प्रहरीलाई जानकारी गराए । यो घटनाको प्रारम्भिक छानबिनको क्रममा रहेको प्रहरीले आइसक्रिममा भेटिएको वस्तु मान्छेकै औंला भएको शंका गरेको छ । घटनापछि प्रहरीले युम्मो आइसक्रिम कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । उक्त टुक्रा मानव अङ्ग भए÷नभएको यकिन गर्न फरेन्सिक परीक्षणका लागि प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्