Logo

रवि लामिछानेले प्रहरीमा जथाभावी सरुवा आतंक फैलाएः कांग्रेस सांसद केसी

काठमाडौं— प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभावी सरुवा आतंक फैलाएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षका लागि मन्त्रालयमा विनियोजित बजेटमाथिको छलफलमा भाग लिने क्रममा सांसद केसीले प्रहरीको कानुनविपरीत जथाभावी सरुवा किन गरेको भन्दै प्रश्न गरेका छन् ।

गृह मन्त्रालयको १०० दिनमा गृहमन्त्री लामिछानेले सुरक्षा अंगहरूको चेन अफ कमाण्ड नै ब्रेक गर्ने खालको काम गरेको र सुरक्षा निकाय प्रमुखलाई निरीह बनाउने काम गरेको भन्दै केसीले आक्रोश व्यक्त गरेका थिए । गृहमन्त्रीले सय दिनमा १७ पटक प्रहरी र ६६ जना सिडियोलाई परिवर्तन गरेर सरुवा आतंक फैलाएको उनको भनाइ थियो ।

‘सरकारले यो १०० दिनको अवधिमा मैले गृह मन्त्रालयको १०० दिनको प्रस्तुति सबै पढेँ । दैनिक गर्नुपर्ने कार्यको फेहरिस्त छ । तर नयाँ ढंगले जुन उत्साह, प्रतिबद्धता, जनप्रिय नाराका साथ गृहमन्त्रीसहितको नयाँ टीम प्रवेश गरेको थियो । मैले १०० दिनको कार्यक्रममा कुनै पनि पाएन’ केसीले भने, ‘सय दिनमा १७ चोटी प्रहरी परिवर्तन भए । ३४ सय भन्दा बढी प्रहरी यो तीन महिनाको अवधिमा परिवर्तन भए । ६६ जना सिडियो र सहायक सिडियो परिवर्तन भएका छन् । १०० दिन भित्र यत्रो परिवर्तनको आवश्यकता किन ? जबकी प्रहरी नियमावलीमा स्पष्ट रुपमा एक वर्षसम्म विशेष परिस्थिति वा उसको काममा खोट देखिएमात्रै परिवर्तन गर्न सकिन्छ, नभए भने परिवर्तन गर्न नहुन्न भन्ने छ ।’

प्रहरीको चेन अफ कमान्ड नै कमजोर बनाउन खोजिएको केसीले बताए । ‘अहिले सरुवा आतंक, आतंक मात्र होइन प्रहरीभित्रको चेन अफ कमान्डलाई लाचार छायाँ बनाउने खालको जुन काम गरिएको छ त्यो गृहमन्त्रीबाट आशा गरिएको होइन । तपाईंबाट निश्चित पद्धति र मर्यादाभित्र बसेर प्रक्रियाबाट हुन्छ भन्ने मलाई चाँही विश्वास थियो,ु केसीले भने, ‘जुन ढंगको सरुवा आतंक, प्रशासनलाई निरीह छायाँ बनाउने र सुरक्षा अंगहरूमा चेन अफ कमान्ड ब्रेक गर्ने र प्रमुखहरूमाथि नै बक्रदृष्टि राख्ने खालको स्थिति पुगेको छ त्यस्ता विषयमा गम्भीर हुन म गृहमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु ।’

 

प्रतिक्रिया दिनुहोस्