Logo

छाउगोठमा बसेकी एक किशोरी मामा पर्नेबाट बलात्कृत, छारे रोग लागेको भन्दै घटना लुकाउने प्रयास

अछाम– अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा एक किशोरी छाउगोठमा बलात्कृत भएकी छन् । सोमबार मध्यरातमा किशोरी मामा नाता पर्ने व्यक्तिबाट छाउगोठबाट बलात्कृत भएको प्रहरीले जनाएको छ । बलात्कारको आरोपमा प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरिसकेको छ ।

किशोरी सोमबार साँझ छिमेकीको घरमा जन्मदिन मनाउन गएकी थिइन् । छिमेकमा जन्मदिन मनाएर रमाइलो गरेर घर फर्किपछि उनी महिनावारी भएपछि छाउगोठमा गएकी थिइन् । किशोरीले राति २ बजे पिसाब फेर्न छाउगोठ बाहिर निस्केका बेला मामा नाता पर्नेले बलत्कार गरेका हुन् । उनी विगत ११ वर्षदेखि मामाघर बस्दै आएकी थिइन् । आमा बितेपछि उनका बुवा अर्को बिहे गरेर भारतमा बस्दै आएका छन्। मामा–माइजु पनि कामको शिलशिलामा भारतमा छन्। किशोरी र तिनका भाइ हजुरबुबा, हजुरआमासँग मामा घरमा बस्दै आएका थिए।

बलत्कृत भएपछि किशोरी करिब १२ घण्टासम्म बेहोस अवस्थामा रहेको खुलेको छ । किशोरी बिहान अबेरसम्म पनि नउठेपछि छाउगोठमा हेर्दा अचेत अवस्थामा भेटिएकी थिइन् । तर गाउँलेले किशोरीलाई छारे रोग लागेको भन्दै नजिक गएर छोएका थिएनन् । मंगलबार बिहान १० बजेतिर नगरपालिकासम्म किशोरी छाउगोठमा बेहोस भएको जानकारी पुगेपछि सबै जनप्रतिनिधिसहित घटनास्थलमा पुगेका थिए ।

जनप्रतिनिधि घटनास्थल पुग्दा पनि स्थानीय भने केही थाहा नपाएजसरी चुपचाप बसेको पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेले बताइन् । के भएको हो भनेर स्थानीयलार्य सोध्दा सबैले पहिले नै बेहोस हुने गर्थिन्, छारे रोग हो भन्ने एकैनासको जवाफ दिएको उनले बताएकी छिन् । सबैले छारे रोग लागेको भन्दै घटना लुकाउने प्रयास गरेको उनले बताएकी छिन् ।

किशोरीलाई छारे रोग लागेको भन्दै घरेलु उपचारले निको हुने भन्न थालेपछि प्रहरीले नै बोकेर उनलाई मंगलबार दिउँसो करिब साढे १२ बजेतिर बेहोस अवस्थामा जिल्ला अस्पताल पुर्‍याएका थिए । उनको अस्पताल पुगेको करिब तीन घण्टापछि मात्र होस् आएको थियो । होस खुलेको धेरैबेरसम्म किशोरी बोल्न सक्ने अवस्थामा नरहेको अस्पतालले जनाएको छ ।

पिडीत किशोरीलाई काउन्सिलिङ गरेपछि मात्रै आफु बलात्कृत भएको कुरा विस्तृतमा बताएकी थिइन् । उनले मामा नाता पर्नेले मुख च्यापेर आक्रमण गर्दै बलात्कार गरेको र त्यतिबेला नजिकै रहेका अरू दुई जनाको आवाज सुने पनि आफूले ठम्याउन नसकेको बताएकी छिन् ।

किशोरीलाई जिल्ला अस्पताल पठाएपछि जनप्रतिनिधि, प्रहरी र स्थानीयको उपस्थितिमा मंगलबार नै छाउगोठ भत्काएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्