प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा दुई दिनको व्यस्त कार्यतालिका


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्दैछन्। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मू र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे काठमाडौँबाट दिल्ली प्रस्थान गर्नेछन्। उनी ३ः१५ बजे दिल्ली पुग्नेछन्। पहिलो दिन साँझ ६ बजे भारतीय विदेशमन्त्रीसँग शिष्टाचार भेट र ७ बजे नेपाल–भारत बिजनेस फोरममा सहभागिता जनाउने कार्यक्रम छ। त्यसपछि रात्रिभोजमा सहभागी हुनेछन्।

भ्रमणको दोस्रो दिन सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा उनको औपचारिक स्वागत हुनेछ। त्यसपछि राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। बिहान ११ बजे भारतीय प्रधानमन्त्री मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता हुनेछ भने ११ः५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ।

दिउँसो १२ः३५ बजे विभिन्न परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौता आदानप्रदान र संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम तय गरिएको छ। त्यसपछि मोदीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने प्रधानमन्त्री शाहले दिउँसो ३ः१५ बजे भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्।

भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार अपराह्न ४ः५० बजे दिल्लीबाट काठमाडौँका लागि प्रस्थान गर्नेछन्। उनी साँझ ६ः३५ बजे स्वदेश आइपुग्ने कार्यतालिका रहेको छ।