Logo

जर्मनी र स्विट्जरल्यान्डको भ्रमणबाट फर्किए राष्ट्रपति, युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन आग्रह

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मनी सरकारसँग आग्रह गरेका छन् । जर्मनी भ्रमणका क्रममा उनले जर्मनीका राष्ट्रपति डा. फ्रैङ्क–वाल्टर स्टाइनमायेरसँगको भेटमा यस्तो आग्रह गरेका हुन् ।

बुधबार बिहान स्वदेश फर्किएसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलको स्विट्जरल्यान्ड र जर्मनी भ्रमणबारे जानकारी गराउँदै परराष्ट्रसचिव सेवा लम्सालले जर्मन भ्रमणका क्रममा राष्ट्रपति पौडेलले लुफ्थान्सा एयरलाइन्सको सर्भिस सुचारु गर्न र युरोपेली आकाशमा रहेको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गरेको जानकारी दिइन् ।

उनले भनिन्, ‘‘जर्मनीका महामहिम राष्ट्रपतिलाई नेपाल भ्रमणको औपचारिक भ्रमणका लागि निमन्त्रणा गर्नुभयो । जर्मनीसँग भएको भेटमा लुफ्थान्सा एयरलाइन्सको सर्भिस सुचारु गर्न र युरोपेली आकाशमा रहेको प्रतिवन्ध फुकुवा गर्न अनुरोध गर्नुभएको छ । दुई पक्षीय सम्बन्ध थप सुदृढ र मजबुत बनाउन थप मद्दत पुगेको छ ।’’

परराष्ट्रसचिव लम्सालले जर्मन भ्रमणमा जर्मनीका राष्ट्रपति स्टाइनमायरसँग दुई पक्षीय भेटवार्ता भएको र विकास सहयोग, व्यापार, लगानी, पर्यटन, व्यवसायिक तालिममा केन्द्रित हुँदै दुवै पक्षबाट नेपाल–जर्मन सम्बन्धका सम्पूर्ण पक्षहरुमा छलफल भएको बताइन् ।

‘‘नेपाल—स्विट्जरल्याण्ड सम्बन्धका विविध पक्षमा छलफल गरेको उनले जानकारी दिएकी छिन् । ‘दुई पक्षीय सम्बन्धको विद्यमान अवस्थाका बारेमा सन्तोष व्यक्त गर्नुभयो । नेपाल र स्विट्जरल्यान्डबिच विकास सहयोग, उच्चस्तरिय भ्रमणको आदनप्रदान, सांस्कृतिक एवम् जनस्तरको सम्बन्ध विस्तार लगायतका दुई पक्षीय सम्बन्धका सबै पक्षहरुमा कृषि, उर्जा तथा दिगो पर्यटन विकासका क्षेत्रमा लगानीका सम्भावना तथा जलवायु परिवर्तनका नकारात्मक असरहरु विरुद्ध लड्ने र पर्वतीय पर्यावरण बचाउने विषयमा छलफल केन्द्रित भयो ।’, सचिव लम्सालले भनिन्, ‘‘राष्ट्रपतिले नेपालको सामाजिक, आर्थिक विकास, सङ्घीयताको कार्यान्वयन र शान्ति प्रक्रियामा गरेको सहयोगका लागि स्विट्जरल्याण्ड सरकारलाई धन्यवाद दिनुभयो । स्विट्जरल्याण्डका महामहिम राष्ट्रपतिले नेपाल समृद्धितर्फ अघि बढिरहेकोमा सन्तोष व्यक्त गर्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्