Logo

तमिलनाडुमा विषाक्त मदिरा सेवन गर्दा ३४ को मृत्यु

एजेन्सी– भारतको तमिलनाडुमा विषाक्त मदिरा सेवनका कारण धेरैले ज्यान गुमाएका छन् । तमिलनाडुको कल्लाकुरिचीमा विषाक्त मदिरा सेवनबाट ३४ जनाले ज्यान गुमाएका हुन् । अन्य ६० भन्दा बढीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

उनीहरुको कल्लाकुरिची जिल्लाको सरकारी मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको स्थानीय सञ्चार माध्यमले बताएका छन् ।
उनीहरुले सेवन गरेको मदिरामा विषाक्त मिथेन ग्यास रहेको पाइएको छ । यस सम्बन्धमा ४९ वर्षीय एक अवैध मदिरा बिक्रेता पक्राउ परेका छन् । उनीबाट करिब २०० लिटर अवैध मदिरा बरामद भएको छ । जसमा घातक ‘मिथेन’ रहेको अनुसन्धानबाट खुलेको हो ।

यस सम्बन्धमा तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले घटनाको गहिरो अनुसन्धान गर्न सिबी सिआइडी अनुसन्धानको आदेश दिएका छन्। घटनापछि सरकारले कल्लाकुरिचीका जिल्ला न्यायाधीश श्रवणकुमार जटवथको सरुवा गरेको छ भने प्रहरी उपरीक्षक समयसिंह मीनालाई निलम्बन गरेको छ । कल्लाकुरिची जिल्लाको निषेधाज्ञा शाखाका प्रहरीसहित अन्य नौ प्रहरीलाई पनि निलम्बन गरिएको छ ।

यस्तै विषालु मदिरा पिएर मृत्यु भएको प्रत्येक मृतकका परिवारलाई १० लाख र उपचार गराइरहेकालाई ५० हजार रुपैयाँ दिने मुख्यमन्त्रीले घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्