Logo

फ्रान्सका दुई साथी मिलेर बनाए २५ फिट अग्लो चलाउन मिल्ने साइकल

एजेन्सी– फ्रान्सका दुई जना साइकलप्रेमी साथीहरुले संसारकै सबैभन्दा अग्लो चलाउन मिल्ने साइकल बनाएर गिनिज बुकमा नाम लेखाएका छन् । फ्रान्सका निकोलास बारियोज र डेभिड पेरोउले ७ दशमलव ७७ मिटर अर्थात् २५ फिट ५ इन्च अग्लो चलाउन मिल्ने साइकल बनाएका छन् ।

५ वर्ष अघि पबमा रक्सी खाइरहेका समयमा दुईले सो साइकल बनाउने विचार गरेका थिए । सो साइकल बनाउन दुवैले महिनौँ खर्च गरे । धातुको अलोई, स्टिल, काठले चलाउन मिल्ने सो अनौठो साइकल बनाउन उनीहरू सयौँ घण्टा खर्च गरेका थिए ।

तर २५ फिट उचाइ भइको चढ्न मिल्ने साइकल बनाउनु उनीहरुलाई सजिलो भने थिएन । पेडललाई १६ मिटर अर्थात ५३ फिट लामो चेनसँग जोडिएको छ । साइकल अति नै अग्लो भएकोले यसलाई लड्न नदिन प्रतिघण्टा १५ देखि २० किमीको गतिमा दौडाउनु पर्छ ।

डेभिड र निकोलासले यो बाइक बनाउन २ वर्ष लगाएका थिए । यसलाई क्लेर्मन्ट–फेर्रान्ड सहरमा साइकल पर्वमा प्रदर्शनमा राखियो । साइकल चलाउन सकिन्छ भन्ने प्रमाणित गर्न डेभिडले निकोलसको सहयोग बिना सय मिटरको दुरीसम्म साइकल गुडाएर देखाएका थिए ।

संसारको सबैभन्दा अग्लो साइकल भन्दा १ फिट दुई इन्च अग्लो बनाएर उनीहरुले नयाँ रेकर्ड राखेका हुन् । यसअघि पोल्याण्डको एडम जेडानोविजले सबैभन्दा अग्लो चलाउन मिल्ने साइकल बनाएका थिए । उक्त साइकल ७.४१ मिटर अर्थात् २४ फिट ३.७३ इन्चको बनाएर उनले २१ डिसेम्बर २०२० मा गिनिज वल्र्ड रेकर्डमा नाम राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्