Logo

काठमाडौंको प्रदशनीमार्गमा रहेको महेन्द्र पुलिस क्लबको स्विमिङ पुलमा डुबेर युवकको मृत्यु

 

काठमाडौं – काठमाडौंको प्रदशनीमार्गमा रहेको महेन्द्र पुलिस क्लबको स्विमिङ पुलमा युवकको मृत्यु भएको हो । असार ४ गते स्विमिङ गर्न पुलिस क्लब पुगेका रौनक शाक्यको डुबेर मृत्यु भएको हो ।
नेपाल प्रहरीका प्रबक्ता दानबहादुर कार्कीले दुर्घटनाबस प्रहरीको स्विमिङ पुलमा डुबेर मानवीय क्षति भएको बताएका छन् । उनी भन्छन्, घटनाको अनुसन्धान भैरहेको छ । मानवीय क्षति हुनुमा जसको गल्ति भए पनि कानुनी कारवाही चाही अवश्य हुन्छ ।

मृतक रौनक शाक्यको आमा राजेश्वरी शाक्यले पुलिस क्लबको लापरवाहीको कारण छोराको मृत्यु भएको आरोप लगाएकी छन्। शाक्य भन्छिन्, ‘रौनक भर्खर भर्खर स्विमिङ सिक्दै थियो । हामीले पुलिस क्लबमा अघिल्लो दिन नै गएर जानकारी गराएर, आवश्यक पैसासमेत तिरेर आएका थियौं। स्विमिङ सिकाउने र उद्धार गर्नका लागि ४ जना लाइफ गार्ड छन् भनिएको थियो । तर मेरो छोरा डुब्दै गर्दा लाइफ गार्डले किन देखेनन्? डुबेको ४ ⁄ ५ मिनेटमा मात्रै लाइफ गार्डले पानीबाट निकालेका छन् । २४ सै घण्टा प्रहरीको निगरानीमा रहने स्विमिङ पुलमा दिउँसै डुबेर युवकको मृत्यु हुनुमा घटना शंकास्पद भएको रौनकका परिवारको दावी रहेको छ । घटनाको समयमा १५ ⁄ १६ जनाले उक्त स्विमिङ पुलमा स्विमिङ सिक्दै गरेको बताउँदै मृतककी आमा राजेश्वरी प्रश्न गर्नु हुन्छ , ‘मेरो छोरालाई मात्रै बेवास्ता किन गरियो । राजधानीको मुटुमै रहेको महेन्द्र पुलिस क्लबमा उद्धार नपाएर दिउँसै मेरो छोराले ज्यान गुमाउनु परेको छ । यो घटनालाई सामान्य भन्न मिल्दै मिल्दैन । उसको मृत्युसँगै मेरो सबै कुरा सकिएको छ । सन्तानको नाममा यही एउटा छोरा मात्रै थियो । हामी त अब पूरै सकियौं नि।

मृतक रौनकका परिवारले सत्यतथ्य छानविन हुनुपर्ने र महेन्द्र पुलिस क्लबले घटनाको जिम्मा लिनुपर्ने भनेका छन् । पुलिस क्लबले उक्त घटनालाई सामान्य सोचेर बेवास्ता गरेको परिवारको दावी रहेको छ । मृतकका परिवारले उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दोषीलाई कानुन बमोजिमको कारबाही हु्नुपर्ने माग गरेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले सोच्दै नसोचेको घटना घटेको बताएका छन् । उनी भन्छन्, ‘मानवीय क्षति हुनु सामान्य विषय हैन। के कति कारणले घटना घट्यो ? मृतकको पोस्टमर्टम रिपोटमा डुबेर मृत्यु भएको भन्ने रहेको छ । के कसको कमजोरीले घटना घट्यो अनुसन्धान भइरहेको छ । गल्ती गर्नेलाई सजाय अवस्य हुन्छ ।

प्रतिक्रिया दिनुहोस्