Logo

विवाहको दिन पूर्व प्रेमीले गरे गोली हानेर दुलहीको हत्या

एजेन्सी– भारतको उत्तर प्रदेशमा बिहेका लागि शृङ्गार गरिरहेकी बेहुलीका लागि आफ्नै पूर्वप्रेमी काल बनेका छन् । उत्तर प्रदेश राज्यको झांसी जिल्लामा बिहेकै दिन ती युवती पूर्वप्रेमीबाट मारिएकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार मध्य प्रदेश राज्यको दतिया जिल्लाको सोनागिरि थाना क्षेत्र अन्तर्गत बरगाउँकी २२ वर्षीय काजल अहिरवारको विवाहकै दिन पूर्वप्रेमीबाट हत्या भएको हो । काजोलको विवाह झांसीका राज नाम गरेका युवकसँग तय भएको थियो । झांसीकै निशा गार्डनमा वैवाहिक समारोह चल्दै थियो भने नातेदारहरू आउने क्रम सुरु भइसकेको थियो ।

जन्ती आउनुभन्दा केही अघि काजल बेहुलीको शृङ्गारका लागि बहिनी र केही साथीसँग ब्युटीपार्लर गएकी थिइन् । शृङ्गार अन्तिम चरणमा पुग्दै गर्दा एक युवक कपडाले मुख छोपेर ब्युटीपार्लरबाहिर पुगे ।

ती युवकले काजललाई आफुलाई धोका दिएको भन्दै बाहिर बोलाए तर उनी गइनन् । त्यसपछि युवकले उनीमाथि गोली प्रहार गरे । काजललाई तत्कालै अस्पताल लगियो । काजललाई चिकित्सकले मृत घोषणा गरे ।

गोली प्रहार गर्ने युवक काजलकै पूर्वप्रेमी रहेको बताइएको छ । काजलकी बहिनी नेहाले भनिन्, ‘दिदी तयार हुँदै थिइ, यत्तिकैमा त्यो केटा आएर दिदीलाई बोलायो । दिदी बाहिर जान मानिन । सिसा फुटाएर भित्र पस्दै उसले दिदीलाई गोली हान्यो ।’

नेहाका अनुसार गोली हान्ने युवक उनीहरूकै गाउँ निवासी हो, जसको नाम दिपक हो । प्रहरीले गोली हानेर फरार भएका युवकको खोजी सुरु गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्