Logo

टेलिभिजन कार्यक्रम ‘इट्स माइ शो’ विवादमा, आफ्नो व्यक्तिगत विषय उठाएको भन्दै जसिता गुरुङको आपत्ती

काठमाडौं– टेलिभिजन कार्यक्रम ‘इट्स माइ शो’को पछिल्लो एपिसोड विवादमा परेको छ । सुरज सिंह ठकुरीले छाडेसँगै गत एपिसोडदेखि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने यो कार्यक्रम ओसिन सिटौलाले सञ्चालन गर्ने थालेकी हुन् । उनको पहिलो एपिसोड नै विवादमा परेको छ ।

ओसिनले होस्ट गरेको पहिलो एपिसोडमा अभिनेत्रीहरु स्वस्तिमा खड्का र साम्राज्ञी शाहलाई अतिथि रुपमा आमन्त्रण गरिएको थियो । उक्त कार्यक्रममा बजर राउन्ड सेग्मेन्टअन्तर्गत खेल खेलाउने भन्दै होस्ट ओसिनले अभिनेत्रीहरुलाई विभिन्न प्रश्न सोध्छिन् । जसमा उनले पहिले धिरज मगर र अहिले अनमोल केसीलाई डेट गरिरहेकी नायिका को हुन् भन्दै सोध्छिन् । सो प्रश्नको जवाफमा स्वस्तिमाले जसिता गुरुङ हुनसक्छ भन्छिन् । सामाग्रीले प्रदिप खड्का, धिरज मगर र अहिले अनमोल केसीलाई जसिताले डेट गरिरहेको जवाफ दिन्छिन् ।

सो कार्यक्रमपछि अभिनेत्री जसिता गुरुङले राष्ट्रिय टेलिभिजनको कार्यक्रममा आफ्नो व्यक्तिगत विषय उठाइएको भन्दै आपत्ती जनाएकी छन् । इन्स्टाग्राममा पोस्ट गर्दै उनले यो अन्तर्वार्ता हेरेपछि कार्यक्रमका अतिथि र होस्ट तीनै जनाबाट आफूलाई गहिरो चोट पुगेको बताएकी हुन् । ‘के हामी साँच्चै एक महिलाले अर्को महिलालाई होच्याउने प्रवृत्तिविरुद्ध छौं ? उहाँहरुहरु कसैसँग मेरो व्यक्तिगत समस्या छैन । सुरुदेखि नै मैले उहाँहरूलाई अभिनेत्री र होस्टको रूपमा उच्च सम्मान र प्रशंसा गर्दै आएकी छु । तर तपाईंहरुको यो कार्यले कतिको जीवन प्रभावित हुनेछ भन्ने सोच्नुभएको थिएन ? ‘

जसिताले महिला भएर महिलाकै विरुद्ध यस्तो कार्य गरेर कस्तो उदाहरण बन्नुभएको? भनेर प्रश्न समेत गरेकी छन् । उनले लेखेकी छन्, ‘मेरो परिवारले तपाईंको अन्तर्वार्ता र समाचार हेरिरहेका छन् भन्ने लाग्दैन? महिला भएर समाजका लागि कस्तो उदाहरण बसाल्नुभएको हो? कसैको व्यक्तिगत जीवनलाई सार्वजनिक रूपमा बदनाम गर्ने र चर्चा गर्ने कारण के हो ?’

जसिताको पोस्टमा अभिनेता अनमोल केसीले कमेन्ट गर्दै जसिताको समर्थन गरेका छन् । उनले लेखेका छन्, ‘म आदरणीय नारीहरुलाई अनुरोध गर्न चाहन्छु, कृपया वास्तविक चरित्रमा ध्यान केन्द्रित गर्नुहोस् र मात्रै रिल क्यारेक्टरमा केन्द्रित नहुनुस् ।’

प्रतिक्रिया दिनुहोस्