Logo

अब गुगलमा नेवारी भाषा, ट्रान्सलेट गरेर बुझ्न सकिने

काठमाडौं– के तपाई नेवार होइन तर नेवारी भाषा बोल्न चाहनुहुन्छ । नेवार साथीहरुले नेपाल भाषामा बोल्दा आफुले पनि बुझ्न पाएपनि हुन्थ्यो त सोच्नुहुन्छ होला । अब गैरनेवारी समुदायका मानिसहरुलाई पनि नेवार भाषा बुझ्न सजिलो हुने भएको छ ।
अब त्यसको लागि धेरै मेहेनत गर्नुपर्दैन । गुगल ट्रान्सलेटबाट नै नेवारी भाषालाई जुनसुकै भाषामा अनुवाद गरेर बुझ्न मिल्ने भएको छ । यसको जानकारी काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दिएकी छिन् ।
गुगल ट्रान्सलेटमा अंग्रेजीबाट नेपाल भाषामा अनुवाद भएको तस्बीर सार्वजनिक गर्दै उनले खुसी साँटेकी छिन् । आफ्नो मातृभाषाको संरक्षणका लागि पहल गर्दै आएकी डंलोगलले गुगल ट्रान्सलेटमा नेपालभाषा समावेश भएकोमा खुशी व्यक्त गरेकी हुन् ।

बिहीबार ब्लगपोस्टमार्फत गुगलले विश्वका ११० भाषा थप गरेको जानकारी गराएको थियो । तीमध्ये नेपालको नेवार समूदायको मातृभाषा पनि समेटिएको हो । गुगल ट्रान्सलेटबाट अब विभिन्न भाषालाई नेपालभाषामा उल्था गर्न सकिन्छ । नेपाल भाषालाई पनि अन्य भाषामा उल्था गर्न सकिन्छ ।

विश्व नेवा संगठनले सन् २०२१ देखि नै गुगल ट्रान्सलेटका इन्जिनियर समूहलाई अङ्ग्रेजीबाट नेपाल भाषामा अनुवाद गर्ने परियोजनाका लागि सहयोग गर्दै आएका थिए । सन् २०२३ को डिसेम्बरमा गुगलले नेपाली भाषालाई आफ्नो गुगल ट्रान्सलेट सेवामा समावेश गरेको थियो ।

गुगलले आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी विविध भाषा उल्था गर्ने सुविधा ल्याएको जनाएको छ । एआईको पाल्म–२ ल्यांग्वेज मोडलको सहयोगमा ६१ करोडभन्दा धेरैले बोल्ने क्यान्टोजी भाषादेखि अफ्रिकामा बोलिने फन, स्वाती, वलोफसँगै नेपालको नेवारी भाषालाई गुगल ट्रान्सलेटमा राखिएको ब्लग पोस्टमा उल्लेख छ । गुगल ट्रान्सलेटमार्फत भाषागत अवरोधलाई तोडेर मानिसहरूलाई आपसमा जोड्न खोजिएको गुगलले जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्